अम्बे सिमेन्टको व्यापार ५८ प्रतिशतले घट्यो, १ अर्ब ३६ करोड रुपैयाँको कारोबार



काठमाडौं । निर्माण क्षेत्रको गतिविधि सुस्त भई निर्माण सामग्रीको माग नहुँदा अम्बे सिमेन्टको व्यापार ५८ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा ५८ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२१ मा २ अर्ब ४ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२२ मा ५८ प्रतिशतले घट्दा कम्पनीले १ अर्ब ३६ करोड ३० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । कम्पनीको उत्पादन क्षमताको उपयोग भने ४१ प्रतिशतले घटेको छ । त्यस्तै, कम्पनीले सन् २०२० मा १ अर्ब ७८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कारोबार घटेपनि नाफा भने स्थिर रहेको कम्पनीले जनाएको छ । कम्पनीले सन् २०२१ मा ६.७९ प्रतिशतले नाफा कमाएकोमा सन् २०२२ मा ६.९५ प्रतिशतले घटेको छ ।

त्यसैगरी, सन् २०२२ मा माग नहुँदा कारोबार घटेकोमा सन् २०२३ मा पनि यसले निरन्तरता पाएको छ ।

कम्पनीको सन् २०२२ को ६ महिनाको तुलनामा सन् २०२३ को सोही अवधिमा उत्पादन भएको क्षमताको उपयोग १५ प्रतिशतले घटेको छ । जसमा कम्पनीको व्यापार ५८.७९ प्रतिशतले घटेको छ । कम्पनीले चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा २७ करोड ४० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ ।

बजारमा आर्थिक मन्दीले माग कम हुँदा कम्पनीको व्यापारमा उच्च कमी आएको कम्पनीको भनाइ छ । सन् २००४ देखि ग्रान्डिङ सिमेन्ट उद्योग स्थापना गरी व्यापार गर्दै आएको कम्पनीसँग दैनिक १ हजार मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन गर्ने क्षमता छ ।

कम्पनीले सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आन्तरिक तथा आयातित दुबै प्रयोग गर्दै आएको छ । कम्पनीले क्लिङ्कर स्वदेशी उद्योगको खपत गर्दै आएको छ भने स्ल्याग, फ्लाई यास र जिपसमजस्ता कच्चा पदार्थ भारतबाट आयात गरी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

कम्पनीले पीपीसी, ओपीसी र पोर्टल्यान्ड स्ल्याग सिमेन्ट उत्पादन गरी विभिन्न १० वटा ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । जसमा कम्पनीले उत्पादन गरेको पीपीसी सिमेन्ट र ओपीसी सिमेन्ट २/२ वटा ब्रान्ड र ६ वटा पीएससी ब्रान्डको सिमेन्ट आवासीय, व्यवसायिक र औद्योगिक आयोजना, ड्याम र अन्य कंक्रिटको कार्यमा प्रयोग हुँदै आएको छ ।

कम्पनीले ७ वटा प्रदेशमध्ये ४ वटा प्रदेश र ७७ वटा जिल्लामध्ये ३८ वटा जिल्लामा उत्पादित सिमेन्टको व्यापार गर्दै आएको छ।

अम्बे ग्रुपद्वारा सञ्चालित कम्पनीले ९५ करोड रुपैयाँको रेटिङ गराएको छ । शोभाकार न्यौपाने अध्यक्ष रहेको कम्पनीको सज्जनकुमार अग्रवाल प्रवन्ध निर्देशक हुन् ।


क्लिकमान्डु