विदेश अध्ययनमा जानका लागि एनओसी पाउनुपर्ने माग गर्दै बिरोध प्रदर्शन



काठमाडौं । नेपाली विद्यार्थीले विदेश अध्ययन गर्न जान वैदेशिक अध्ययन अनुमति पत्र उपलब्ध गराउनु पर्ने माग गर्दै बिरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले नो अब्जेक्शन सर्टिफिकेट (एनओसी) दिनुपर्ने माग गर्दै मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा बिरोध प्रदर्शन गरेका हुन् । सरकारले गत वर्षको चैत २७ गतेबाट एनओसीमा रोक लगाएको भन्दै उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् ।

विभिन्न इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीहरुले नो अब्जेक्शन सर्टिफिकेट (एनओसी) विषयलाई लिएर दबाबमुलक प्रदर्शन गरेका थिए ।

उनीहरुले एनओसी विधेयक खारेज गर्, विद्यार्थी मार्न पाइँदैन, प्रहरी दमन मुर्दावाद, शिक्षा मन्त्रालय जान दे, शिक्षामन्त्री बोलाइ दे लगायतका नारा लगाएर बिरोध प्रदर्शन गरेका छन् ।

सरकारले डिप्लोमा तह वा सो सरहको अध्ययन तथा भाषा अध्ययनका लागि एनओसी नदिने भएसँगै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ ले स्नातक तहपछिका शिक्षालाई मात्र उच्च शिक्षा परिभाषित गरेकाले त्यसभन्दा मुनिका कुनै पनि शैक्षिक कार्यक्रमका लागि चैत १९ गतेदेखि एनओसी दिन बन्द गरिएको थियो ।

यसअघि कक्षा १२ पास गरिसकेपछि डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष) गर्न जानेलाई पनि एनओसी दिँदै आएको थियो ।


क्लिकमान्डु