महासंघको कोषाध्यक्षमा निरक केसी विजयी, प्रबलजंग पाण्डेको पराजय



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी निर्वाचित भएका छन् । अध्यक्ष चन्द्र ढकालको समर्थन रहेका केसी सोमबार साँझ भएको निर्वाचनमा ३८ मत प्राप्त गरी बिजयी भएका हुन् ।

बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको समर्थनमा कोषाध्यक्षको उम्मेद्वार रहेका प्रवलजंग पाण्डेले जम्मा २९ मत मात्रै प्राप्त गरे । १ मत बदर भएको छ । महासंघको हालै निर्वाचित कार्यकारीणी समितिले कोषाध्यक्ष छनोट गर्छ ।

महासंघ अध्यक्ष ढकालले सर्बसहमतिमा कोषाध्यक्ष चयन गर्नुपर्ने प्रस्तावलाई बरिष्ठ उपाध्यक्ष श्रेष्ठले चुनौति दिँदै पाण्डेलाई चुनाव उठाएका थिए ।

आइतबार नै निर्वाचन हुनुपर्नेमा अध्यक्ष ढकालले सहमतिबाट कोषाध्यक्ष चयन गर्नुपर्ने प्रस्ताव राखेपछि सोमबार बिहान ९ बजेका लागि निर्वाचनको कार्यतालिका स्थगन गरिएको थियो ।

अध्यक्ष ढकालले महासंघका सबै कार्यकारीणी सदस्यहरुलाई निजी निवासमा बोलाएर आइतबार रात्रिभोजको आयोजना गरेका थिए । सो समय सहमति जुटाउनका लागि बैठक पनि भएको थियो । राति ११ बजेसम्मको प्रयास असफल भएपछि पनि ढकालले बिहान फेरि सहमतिको प्रयास गर्दै ९ बजेको कार्यतालिकालाई अर्को सूचना नआएसम्म्का लागि स्थगित गरेका थिए । दिउँसो १ बजेसम्म पनि सहमति नभएपछि साँझ ५ बजे निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक भएको थियो ।

सुरुमा ४ जनाले उम्मेद्वारी दिने घोषणा गरे पनि सोमबार साँझ अध्यक्ष ढकालको समर्थन रहेका केसी र बरिष्ठ उपाध्यक्ष श्रेष्ठको समर्थन रहेका पाण्डेले मात्रै उम्मेद्वारी दिएका थिए ।

केसी यसअघि पनि निर्विरोध कोषाध्यक्ष बनेका थिए ।

नेतृत्वको निर्वाचन सकिएलगत्तै भएको कोषाध्यक्षको चुनावमा अध्यक्ष ढकाल र बरिष्ठ उपाध्यक्ष श्रेष्ठले छुट्टाछुट्टै उम्मेद्वार उठाउनूलाई व्यवसायीहरुले विशेष चासोका साथ हेरेका छन् । कोाषाध्यक्षको निर्वाचनको परिणामपछि ढकाल र श्रेष्ठ कसरी अघि बढ्लान् भन्ने चासो व्यावसायिक वृत्तमा ठूलो चासो छ ।


क्लिकमान्डु