‘फ्रि भिसा फ्रि टिकट’को प्रावधान गलत छ, हटाउनुपर्छः श्रममन्त्री भण्डारी
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा ‘फ्रि भिसा फ्रि टिकट’को प्रावधान गलत भएको बताएका छन् । श्रम मन्त्रालयमा क्लिकमान्डुसँगको भेटमा सोमबार मन्त्री भण्डारीले ‘निःशुल्क व्यवसाय गर’ भन्नु असम्भव रहेको बताएका हुन् ।
‘कुनै अवस्थामा शून्य लागत र कुनै अवस्थामा १० हजार लिएर युवा विदेश पठाऊ भनिएको छ तर मेरो धारणा स्पष्ट छ, निःशुल्क व्यवसाय हुन सक्दैन,’ उनले भने, ‘यो प्रावधान तत्काल पुनरवलोकन गर्ने पक्षमा हामी छौं ।’ शून्य लागत नीतिको आडमा अहिले रोजगारीका लागि विदेश जान चाहने युवाबाट ठूलो रकम असुली भइरहेको उनको भनाइ छ ।
मन्त्री भण्डारीले मनपरी रकम असुली भइरहेको, जुन कामका लागि भनेर पठाइन्छ त्यो काम गर्न नपाइरहेको र युवाले विदेशमा अनावश्यक दुःख पाइरहेको विषयमा मन्त्रालयले जानकारी लिइरहेको र त्यसमा पनि तत्काल आवश्यक कदम चालिने बताए । ‘फ्रि भिसा फ्रि टिकट त कुनै हिसाबले व्यावहारिक छैन, त्यसबाहेक अरु धेरै कुरा हाम्रो नोटिसमा आइसकेको छ, चाँडै एउटा निर्णयमा पुग्छौं,’ उनले भने ।
क्लिकमान्डुमा आइतबार ‘रोजगारीका लागि बिदेसिने युवाबाट एकै महिनामा ९ अर्ब उठाउँछन् म्यानपावर व्यवसायी’ शीर्षकमा समाचार सम्प्रेषण भएपछि मन्त्री भण्डारीको ध्यानाकर्षण भएको हो । उनले आजै मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव रामचन्द्र ढकाल लगायतसँग पनि यस विषयमा छलफल गरेका छन् ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले पनि हचुवामा ऐन संशोधन गरिएको र यसमा चाँडै पुनरवलोकन हुन बताएका छन् । ‘एकातिर कम्पनी खोलेर व्यवसाय गर भन्ने र अर्कोतिर एक रुपैयाँ पनि लिन पाइँदैन भन्नु नै ठगीका लागि बाटो खुला गरिदिनु हो भनेर बुझ्न कठिन छैन,’ उनले भने ।
सरकारले शून्य लागत नभनेर देशअनुसार यति लिन सक्ने भनेर शुल्क तोक्नुपर्ने र यही विषयमा छलफल भइरहेको उनले जानकारी दिए । शुल्क नतोकिँदा अहिले त मानव तस्करी नै भइरहेको उनले बताए ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता भण्डारी शुक्रबार मात्रै श्रममन्त्री नियुक्त भएका हुन् । उनी बहुदल अघिदेखि मन्त्री बन्दै आएका छन् । यसअघि उनी १० पटक मन्त्री र १ पटक राज्यमन्त्री बनिसकेका छन् ।