जनतामा भ्रम छर्न रविले भ्रष्टाचार र सुशासनका नारा लगाएः योगेश भट्टराई



चितवन । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश र जनतालाई ढाँटेको आरोप लगाएका छन् । चितवनको भरतपुरमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रक्रिया पूरा नगरी निर्वाचनमा प्रतिस्पर्धा गर्नु भनेको देश, जनता, कानुन र संविधानलाई ढाँट्नु भएको बताए ।

नेकपा एमालेलाई ७० वर्षसम्म पनि नआएका प्रश्नहरुको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले ७ महिना नपुग्दै जवाफ दिनुपर्ने स्थिति सिर्जना भएको तर्क गरे । ‘सभापति लामिछानेले दिएका भ्रष्टाचार र सुशासनका नारा जनतालाई भ्रम पार्नका लागि मात्रै हो,’ उनले भने, ‘लामिछाने कुनै भर्जिन, अर्ग्यानिक क्यान्डिडेट पनि होइनन् ।’

सभापति लामिछानेले सार्वजनिक खरिद ऐनविपरीत ठेक्कापट्टामा निर्णय गरेको भन्दै विरोध पनि गरे । जनतालाई ढाँटेकोप्रति ५ वर्ष प्रायश्चित गर्नुपर्नेमा लामिछाने चुनाव उठिरहेको उनले बताए ।

‘उहाँको पार्टीमा के-के भइरहेको छ, अडियो काण्ड आइरहेका नै छन् । कसरी उहाँले सार्वजनिक खरिद ऐनको विपरीत ठेक्कापट्टामा निर्णय गर्नुभयो, भोलिपल्ट मन्त्री पद छोड्नुपर्ने भयो । अघिल्लो दिन हतारहतार फाइलहरु किन स्वीकृत भए ? यी प्रश्न छन्,’ सचिव भट्टराईले भने, ‘एउटा सभ्य समाजमा मान्छेले गल्ती गर्नसक्छ, त्यसप्रति माफी पनि हुन्छ तर सभ्य समाजलाई ढाँट्ने कुरा ठूलो अपराध हो । रवि लामिछानेजीले गल्ती गर्नुभएको होइन, ढाँटेको हो । समाज र राज्यलाई ढाँटेको हो ।’


क्लिकमान्डु