महासंघको अध्यक्षका रुपमा ५ काम गर्छु: चन्द्रप्रसाद ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले केही पूर्व अध्यक्ष र निवर्तमान अध्यक्षसँग भएको छफलफबाट वरिष्ठ उपाध्यक्षमा सर्वसहमति जुटेको बताएका छन् । वरिष्ठ उपाध्यक्षमा सर्वसहमतिका लागि ठूलो छाती गरेको भन्दै ढकालले अर्का प्रत्यासी उमेशलाल श्रेष्ठको प्रशंसा गरे ।

निजी क्षेत्रले अन्तिमसम्म प्रयास गरेर सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चयन गरेको उनको भनाइ छ ।यसले निजी क्षेत्रले चाह्यो भने गर्न सक्छ भनेर देखाएको अध्यक्ष ढकालले बताए ।

शपथ ग्रहणपछि उनले आफ्नो कार्यकालमा मुख्य ५ काम गर्ने बताएका छन् । उनले निजी क्षेत्रलाई आमजनताले हेर्ने दृष्टिकोण राम्रो नभएको भन्दै त्यसलाई सकारात्मक बनाउने बताए । त्यसको काम सुरु भएको र केही दिनमा यसको नतिजा देखिने उनको भनाइ छ । ‘जिल्ला नगरबाट आएको यो माग माग चाँडै पूरा हुन्छ,’ ढकालले भने ।

अहिले धेरैले रोजगारी गुमाउनुपरेको र उद्योगीले हात झिक्नुपरेको र त्यसको कारण केही कोरोना, केही राज्यको नीति र केही विश्व आर्थिक मन्दीको प्रभाव भएको उनले बताए । ‘यसमा अब कसैले कसैलाई गाली गर्नुभन्दा पनि सबैबीच सहकार्य आवश्यक छ,’ उनले भने ।

त्यस्तै वैदेशिक लगानी ल्याउन नीति सुधार गर्न पहल गर्ने प्रतिबद्धता उनले जनाए । ‘निजी क्षेत्रले भोगेको हरेक समस्या समाधान गर्न राज्य तथा सरोकारवालासमक्ष पहल गर्नेछु,’ ढकालले भने, ‘महासंघमा मेरो कार्यकालमा केही न केही सुधार हुन्छ, चुनावसम्म जति पक्ष-विपक्ष भए पनि अब सबै एक भएर त्यसका लागि जुट्नुपर्छ ।’

महासंघको विधानअनुसार उनी स्वत: अध्यक्ष चयन भएका छन् । उनले आजै महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।


क्लिकमान्डु