उद्योग वाणिज्य महासंघको २०औं अध्यक्षमा चन्द्रप्रसाद ढकाल



काठमाडौं । ‘जब होल्डरबाट जब क्रिएटर’ बनेको साढे तीन दशकको अवधिमा चन्द्रप्रसाद ढकाल उद्योगी व्यवसायीको सबैभन्दा ठूलो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको सर्वोच्च पदमा पुगेका छन् । महासंघको चैत ३० मा सम्पन्न साधारण सभापछि वरिष्ठ उपाध्यक्ष ढकाल स्वत: २०औं अध्यक्ष बनेका हुन् ।

दुई कार्यकाल महासंघको कार्यकारिणी समिति सदस्य रहेका ढकालले एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा पुगेका थिए । महत्वपूर्ण जिम्मेवारीमा रहँदा उनले लगानी समिति र रोजगारदाता परिषद्को सभापतिको भूमिका निर्विवाद सम्हालेका थिए ।

महासंघको नव-निर्वाचित अध्यक्षको रुपमा ढकालले संकटको घडीमा उद्योगी व्यवसायीको मनोबल उच्च बनाउनुलाई पहिलो प्राथमिकतामा राखेका छन् । अर्थतन्त्रका तत्कालीन समस्याको समाधानमा पहल गर्दै दीर्घकालीन रणनीति तयार गर्नु उनको मुख्य प्राथमिकता हो ।

त्यस्तै अर्थतन्त्रमा निजी क्षेत्रको योगदान वृद्धि गर्ने, सार्वजनिक-निजी साझेदारीको प्रवर्धन गर्ने र स्वदेशी-विदेशी लगानी प्रवर्धनसँगै निजी क्षेत्रको सम्मान वृद्धि गर्ने एजेन्डालाई उनले मुख्य प्राथमिकतामा राखेका छन् ।

वरिष्ठ उपाध्यक्षको कार्यकालमा हरेक प्रदेशमा कम्तीमा एउटा ठूलो पूर्वाधारमा लगानी गर्ने ढकालको लक्ष्य अध्यक्षको कार्यभार सम्हाल्दै गर्दा पूरा हुने भएको छ । महासंघको नेतृत्वमा रहँदा प्रत्येक जिल्ला तथा नगर उद्योग वाणिज्य संघ रहेका स्थानमा उद्यम तथा लगानी बढाउने र रोजगारी केन्द्रित ‘सीप तथा व्यवसाय प्रवर्धन प्रणाली’ विकास गरी साना तथा मझौला उद्योगमा लगानी विस्तार गर्ने उनको लक्ष्य छ ।

उद्यमशीलता विकासमा भूमिका

आमजनतालाई प्रत्यक्ष फाइदा वा सेवा दिने, सरकारको प्राथमिकता र व्यावसायिक सम्भावनाको क्षेत्रमा लगानी गर्न रुचाउने ढकाल पहिलो पुस्ताका सफल उद्यमी-व्यवसायी हुन् । जागिर छाडेको छोटो अवधिमा उनी आफू पनि व्यावसायिक जगतमा स्थापित भए भने २० हजारभन्दा बढी मानिसलाई पनि स्थापित गराए, प्रत्यक्ष रोजगारीमा जोडेर ।

ढकाल नेतृत्वको आईएमई ग्रुप २० हजारभन्दा बढीलाई प्रत्यक्ष र ४० हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिन सफल भएको छ । महासंघका नवनिर्वाचित अध्यक्ष ढकाल आईएमई ग्रुपका संस्थापक अध्यक्ष हुन् ।

उनले २०४८ सालमा कार्गो कम्पनी हुँदै २०५७ सालमा नेपालको पहिलो रेमिट कम्पनी आईएमई रेमिट स्थापना गरेर व्यावसायिक फड्को मारेका हुन् । आईएमई ग्रुपसँग सम्बद्ध उनका थुप्रै व्यवसाय र उद्योग प्रतिष्ठान नेपालसहित विश्वबजारमा स्थापित छन् ।

ढकालको नेतृत्वमा आईएमई ग्रुपले सेवा, पूर्वाधार विकास र उत्पादनमूलक क्षेत्रमा केन्द्रित गरी उद्यम व्यवसाय विस्तार गरिरहेको छ । रेमिट, बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, होटल तथा रिसोर्ट, अटोमोबाइल, बीमा, खेलकुद तथा मनोरञ्जन क्षेत्रमा उनको लगानी छ ।

ग्लोबल आईएमई बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आईएमई लिमिटेड, आईएमई जनरल इन्स्योरेन्स, आईएमई डिजिटल सोलुसन्स, हिमालय पावर पार्टनर, माउन्टेन इनर्जी, चन्द्रागिरि हिल्स, आईएमई मोटर्स, डिस मिडिया नेटवर्कलगायतका कम्पनीमा आईएमई ग्रुपको प्रमुख हिस्सेदारी छ ।

पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्दै ढकाल सातवटै प्रदेशमा केवलकारसहितका नयाँ पर्यटकीय गन्तव्य निर्माणमा सक्रिय छन् । नेपालको अर्थतन्त्रको मेरुदण्ड बनेको रेमिट्यान्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्र्याउने व्यवसायमार्फत् देशको औपचारिक अर्थतन्त्र विकासमा अध्यक्ष ढकालको उल्लेख्य योगदान छ ।

पुरस्कार तथा सम्मान

औपचारिक माध्यममार्फत् ठूलो मात्रामा रेमिट्यान्स नेपाल ल्याउने सफल संस्थाको नेतृत्वको रुपमा ढकाललाई सरकारले पटक-पटक ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति सम्मान- सीआईपी’ बाट सम्मान गरेको छ । यस्तै रेमिट्यान्स व्यवसाय मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा आईएमई लगातार चार पटक ‘ठूला करदाता सम्मान’ बाट पुरस्कृत भएको छ ।

ढकालले २०७२ को भूकम्प र कोभिड-१९ महामारी तथा अन्य विपद्का समयमा समेत उद्धार, तत्काल राहत वितरणमा आईएमई ग्रुपलाई नै परिचालन गर्दै आएका छन् । कोभिड-१९ मा आईएमई ग्रुपले भरोसा कोष स्थापना गरेर ठूलो रकम सहयोग पनि गरेको थियो ।

नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्य दूत ढकाललाई २०७२ को महाभूकम्पका समयमा उद्धार र राहतमा गरेको योगदानको प्रशंसा गर्दै गणतन्त्र इन्डोनेसियाको परराष्ट्र मन्त्रालयले समेत सम्मान गरेको थियो । अध्यक्ष ढकाल, नेपाल सरकारबाट प्रदान गरिने प्रतिष्ठित सुकीर्तिमय राष्ट्रदीप, गोरखा दक्षिण बाहु चौथो र प्रबल जनसेवाश्री चौथोबाट सम्मानित व्यक्तित्व हुन् ।

मध्यमार्गी शैली

बागलुङको अमलाचौरमा २०२२ सालमा जन्मिएका ढकालले २०४५ सालबाट राष्ट्रिय वाणिज्य बैंकको जागिर छाडेर आफ्नो व्यवसाय सुरु गरेका हुन् । व्यावसायिक जीवनको ३५ वर्षमा ढकालको उद्यम यात्राले ठूलो आरोह‑अवरोह पार गरिसकेको छ । तर, उनको शैलीमा खासै ठूलो बदलाव आएको छैन ।

मध्यमार्गी स्वभाव र सकारात्मक सोच राख्ने ढकाल उस्तै मिजासिलो स्वाभावका छन् । नेपाल राष्ट्र बैंकले मर्जर नीति लिनु अघिदेखिको उनको मर्जर यात्रा अझै जारी छ । २२-२३ संस्थालाई मिलाउन सक्ने खुबीकै कारण उनी देशकै सबैभन्दा ठूलो संस्थाको नेतृत्वमा छन् । यसले पनि उनको स्वभावलाई प्रतिबिम्बित गर्छ ।

अहिले अर्थतन्त्र गम्भीर संकटको सामना गरिरहेको छ । आन्तरिक उत्पादन खस्किरहेको छ । उद्योगीहरु उद्यम छाडेर व्यापारतिर लागेका छन् । निर्यातमूलक उद्योग खुल्न नसक्दा आयात बढ्दो छ । अर्थतन्त्र नै एकखाले मन्दीको सामना गरिरहेको छ ।

सरकारका नीति र ऐन कानुनप्रति उद्योगी व्यवसायी सन्तुष्ट छैनन् । व्यवसायीले विभिन्न फोरममा भन्ने गरेका छन्- ‘उद्योग स्थापना गर्न १७ वटा कानुन पढ्नुपर्छ, उद्योगीलाई थुन्न २१ वटा कानुन बनाइएका छन् । हरेक पटक बजेट आउँदा आर्थिक नीति फेरबदल हुन्छ । उद्योग मन्त्रालयको कानुन अर्थ मन्त्रालयले चिन्दैन ।’

यस्ता कानुनी खोट पहिचान गरी समाधानको उपाय खोज्नुपर्ने चुनौती अध्यक्ष ढकालसामु हुनेछ । अव्यावहारिक नीति परिमार्जनमा लागिपर्दै लगानीमैत्री र औद्योगिक वातावरण बनाउन पहल गर्नु ढकाल नेतृत्वको टिमको मुख्य कार्यभार हुनेछ । व्यावसायिक जीवनमा उनको अनवरत यात्राको सफलता-असफलताको मानक पनि यही बन्नेछ ।


क्लिकमान्डु