एफएनसीसीआई चुनाव: वरिष्ठ उपाध्यक्षमा सहमति खोज्ने प्रयास



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा सहमतिको प्रयासले दोस्रो चरणको निर्वाचन पछि धकेलिएको छ । वरिष्ठ उपाध्यक्षका दुई उम्मेदवारबीच सहमति खोज्ने प्रयासमा निवर्तमान अध्यक्ष र पूर्वअध्यक्षहरु नै जुटेपछि निर्वाचन कार्यक्रम पछि धकेलिएको हो ।

मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले उम्मेदवारका तर्फबाटै सहमतिको प्रयास भइरहेको जानकारी गराउँदै निर्वाचन कार्यक्रम सार्न प्रस्ताव आएको जानकारी दिए । उनका अनुसार सहमतिका लागि ४ बजेसम्मको समय माग गरिएको छ ।

त्यस्तै दोस्रो चरणको चुनावको तयारी पनि नसकिएकाले केही ढिला भएको उनले बताए । ‘अहिल्यै मतपत्र छापेर ल्याउनुपर्ने थियो, सबैमा सही गर्नुपर्‍यो,’ उनले भने, ‘समयमै तयारी पूरा नभएकाले पनि सार्नुपर्ने भएको हो ।’

यसअघि मतदान २ बजेदेखि गर्ने तयारी थियो । सहमति नभए ४ बजेपछि चुनाव हुने उनले जानकारी दिए । सहमतिका लागि मुख्यत: अब हुने अध्यक्ष चन्द्रप्रसाद ढकालले नै प्रयास गरिरहेका छन् ।

पहिलो चरणको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरु उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघई कसैले पनि ५० प्रतिशत मतभार नपाएपछि बढी मत ल्याउने दुई उम्मेदवार बीच पुनः मतदान गर्न लागिएको हो ।

वरिष्ठ उपाध्यक्षको दौडमा रहेका संघई पहिलो चरणबाटै बाहिरिएका छन् । सहमति जुट्न नसके उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच वरिष्ठ उपाध्यक्ष पदका लागि प्रतिस्पर्धा हुनेछ ।


क्लिकमान्डु