जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्न काठमाडौँ महानगरपालिकाको रात्रिकालीन अनुगमन



काठमाडौँ । सार्वजनिक स्थानमा फोहोर फाल्ने बढेपछि काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको छ । सार्वजनिक स्थानमा रातको समयमा फोहोर फाल्ने बढेपछि महानगरले रात्रिकालीन अनुगमन थालेको हो ।

जथाभावी फोहोर फालेको भन्दै कामपाले गत साता जरिवाना स्वरूप १५ हजार रुपैयाँ असुलेको छ । बिहीबार राति वडा नम्बर १४ को कुलेश्वर क्षेत्रमा बा४च ३३४ नम्बरको गाडीमा बोरामा हालेको फोहोर फाल्दै गर्दा महानगरको रात्रिकालीन अनुगमन टोलीले पक्राउ गरी जरिवाना असुल गरेको हो ।

जरिवाना असुल गरी उक्त गाडीलाई फोहोर जथाभावी नफाल्ने सर्त राखेर रिहा गरेको महानगरका वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । दुई हप्ताअघि पनि कामपाले तोकिएको स्थानभन्दा अन्यत्र फोहोर फाल्नेबाट कारबाही स्वरूप १२ हजार रुपैयाँ जरिवाना असुल गरेको थियो ।

वातावरण विभागका अनुसार हरेक दिन बिहान फोहोरको व्यवस्थापनका लागि महानगरको फोहोर संकलन गर्ने गाडी आउने गर्छ । तर, कामपाको आग्रहलाई कतिपयले बेवास्ता गर्दै आएका छन् ।

महानगरले सडक पेटी तथा फुटपाथमा निर्माण सामग्री हटाउने काम नियमित गरिरहेको छ । पैदलयात्री हिँड्ने सडकपेटीमा निर्माण सामग्री राखिएको भन्दै कामपाले यस्ता सामग्री सम्बन्धित व्यक्तिलाई हटाउन आग्रह पनि गरिरहेको छ । कामपाको आग्रह अटेरी गरे अनुगमन गरी जरिवाना गर्ने गरेको छ ।

उपत्यकाका १८ स्थानीय तहको फोहोर अन्तिम व्यवस्थापनका लागि हरेक दिन दुई सय गाडी फोहोर बोकेर बञ्चरेडाँडामा जाने गर्छन् ।

पुतलीसडक क्षेत्रमा इन्टरनेट सेवाप्रदायकले तार काटेर सार्वजनिक आवागमनमा बाधा गरेकाले दुर्घटनाको खतरा बढाएको भन्दै कामपाले अनधिकृत फोहोर उत्पादन गरेर सहरी व्यवस्थापनलाई बाधा नगर्न आग्रह गरेको छ ।


क्लिकमान्डु