डढेलोले प्रदूषण बढ्यो, सकेसम्म घरबाहिर ननिस्कन आग्रह



काठमाडौं । देशका १४० भन्दा बढी स्थानमा लागेको डढेलोका कारण प्रदूषण बढेको वातावरण विभागले जनाएको छ ।

विभागले सूचना जारी गर्दै बारा, पर्सा, चितवनलगायतका स्थानमा लागेको डढेलो र प्रदूषणका कारण काठमाडौं उपत्यका र देशका मध्य तथा पूर्वीभागमा वायु प्रदूषणको स्तर अत्यधिक बढेको पाइएको जनाएको छ । विभागका अनुसार यसमा पनि बिहान र बेलुकाको समयमा प्रदूषण अत्यधिक बढेको छ ।

प्रदूषणको बढ्दो स्तरका कारण स्वास्थ्यमा नकारात्मक असर पर्ने र विशेष गरी बालबालिका, वृद्ध वृद्धा एवं श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले विभागले सकेसम्म घरबाहिर ननिस्किन अनुरोध गरेको छ । घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

डढेलो नियन्त्रणका लागि सरोकारवाला निकायसँग हातेमालो गर्न समुदायलाई विभागले अनुरोध गरेको छ । ‘फोहोरजन्य वस्तु बाल्दा वायु प्रदूषण झनै बढ्ने भएकाले यस्तो कार्य नगर्न र वायु प्रदूषण मौसममा पनि भर पर्ने र डढेलोको अवस्था यस्तै भइरहेमा उच्च प्रदूषणको जोखिम रहिरहने हुनाले विशेष सावधानी अपनाउन आम सर्वसाधारण अनुरोध छ,’ जारी सूचनामा उल्लेख छ ।


क्लिकमान्डु