महासंघ चुनाव: १५% प्रतिशत मत खस्यो



काठमाडौं । उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा विहान १० बजेदेखि मतदान सुरु भएको थियो । मतदान सुरु हुनासाथ विवाद भएपछि करिब १ घण्टा मतदान अवरुद्ध भएको थियो । अहिले भने मतदान जारी रहेको छ ।

मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले दिउँसो १ बजेसम्म करिब १४-१५% प्रतिशत मत खसेको बताए ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । त्यसकारण पनि वरिष्ठ उपाध्यक्ष पदमा कडा प्रतिस्पर्धा हुने गर्छ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल साधारण सभाबाट स्वत: अध्यक्ष बन्नेछन् ।

वरिष्ठ उपाध्यक्षको दौडमा यसपटक तीन जना प्रतिस्पर्धी छन् । वरिष्ठ उपाध्यक्षका लागि महासंघका वस्तुगततर्फका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, वस्तुगततर्फका वर्तमान उपाध्यक्ष अञ्जन श्रेष्ठ र एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघई प्यानलसहित मैदानमा छन् ।

त्यस्तै जिल्ला/नगरतर्फको उपाध्यक्षका लागि ३, वस्तुगततर्फको उपाध्यक्षका लागि ३ र एसोसिएटतर्फको उपाध्यक्षका लागि २ जनाको उम्मेदवारी परेको छ ।

आज हुने निर्वाचनमा विभिन्न ६४ पदका लागि ११६ जनाले प्रतिस्पर्धा गर्नेछन् ।

जिल्ला/नगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगततर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाको उम्मेदवारी परेको छ । प्रदेश सदस्यतर्फ कोशीमा १ सदस्यका लागि ३, मधेसमा १ सदस्यका लागि २, बागमतीमा १ सदस्यका लागि २, गण्डकीमा १ सदस्यका लागि २, कर्णालीमा १ सदस्यका लागि ३ र सुदूरपश्चिममा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेदवारले निर्वाचित हुन पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन नसके दोस्रो चरणको निर्वाचन चैत ३० गते बिहान ११ बजेदेखि ५ बजेसम्म हुनेछ ।


क्लिकमान्डु