महासंघमा अब मेरो भूमिका सल्लाह दिने मात्रै रहनेछ: शेखर गोल्छा



काठमाडौं । कार्यकाल सकिएर बिदा हुन लागेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आफ्नो चार वर्षे कार्यकालमा नीजि क्षेत्रको सम्मान बढाउने र नीजि क्षेत्रलाई काम गर्ने वातावरण बनाउने कुरामा वकालत गरेर विताएको बताएका छन् ।

काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा जारी मतदानका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष गोल्छाले आफूले म्याचुअर्ड तरिकाले राज्यप्रति जिम्मेवार रहेर आफ्नो कामहरु गरेको बताए । धेरै पटक पपुलिष्ट निर्णय गर्ने टेम्टेसन भए पनि आफूले कहिल्यै नगरेको बताए ।

आफ्नो कार्यकाल सम्भवतः नेपालको इतिहासमै कठिन काल भएको उनले बताए । साना व्यवसायीको समस्या सुनेन भन्ने आरोपको उनले खण्डन गरे ।

‘सबैभन्दा यो पहिले त यो समस्या साना व्यवसायीको मात्रै होइन, सम्पूर्ण राज्यको समस्या रहेको छ । जब सम्पूर्ण राज्यको समस्या हुन्छ, किनभने राजस्व घटेको छ, अन्य पनि समस्या आएको छ । र यस्तो अवस्थामा सबैको यो समस्या साझा समस्या रहेको छ’ उनले भने ।

उद्योग वाणिज्य महासंघले केन्द्रित भएर साना तथा मझौला व्यवसायीहरुका लागि काम गरेको भन्दै उनले इतिहासमै कहिल्यै पनि यति फोकस नभएको बताए ।

‘हामीले ब्याजदरलाई खास गरेर २ करोडभन्दा कम कर्जा लिनेहरुलाई बेसरेटभन्दा २ प्रतिशत भन्दा बढी नबढ्ने लबिङ गर्यौं । यसमा हामी सफल भयौं । बिना धितो कर्जाको कुरा हामीले धेरै अघि बढाएका छौं । साझा र मझौला व्यवसायीको समस्याको निर्मुल गर्नका लागि हामीहरुले धेरै कामहरु गरेका छौं’ उनले भने ।

अब चन्द्र ढकालको नयाँ नेतृत्वले राज्यप्रति जिम्मेवार रहेर काम गर्नेमा आफू विश्वस्त भएको उनले बताए । अहिलेको समस्या समाधानका लागि सरकारसँग वार्ता सुरु गर्नु्पर्ने उनले बताए ।

‘सरकारसँग सहकार्य नगरि कुनै समस्याको समाधान हुन सक्दैन । हामी सहकार्य गरौं । हामी तार्किक रुपमा विज्ञहरुको सल्लाह लिएर अहिलेको समस्यालाई समाधान गर्नुपर्छ’ उनले भने ।

राजनीतिक अस्थिरता हुँदा निजी क्षेत्रको एजेण्डा ओझेलमा पर्ने उनले बताए ।

‘हामीले के स्वीकार्नु पर्छ भने गत तीन वर्षमा तीन जनासम्म प्रधानमन्त्री आए । तीन चार जना अर्थमन्त्री आए । भनेपछि यस्तो बेलामा जब राजनीतिक रुपमा अस्थीरता रहन्छ, नीजि क्षेत्रको एजेण्डा ओझेलमा पर्छ’ उनले भने, ‘संसदमा पनि त्यस्तै भयो । बीचमा निर्वाचन पनि थियो । अनेक किसिमका चुनौतीहरु थिए । तर, उद्योग वाणिज्य महासंघले, नीजि क्षेत्रको कुरालाई बुलन्दका साथ उठाएको छ । जहाँसम्म कार्यान्वयनको कुरा छ धेरै कुराहरु भएका पनि छन् । तर, मैले जसरी भने एउटा अस्थीर राजनीतिक अवस्थामा हुँदा खेरि धेरै कुराहरु कार्यान्वयन हुनुपर्नेमा हुन सकेन ।’

उनले अब आफ्नो भूमिका अब सल्लाहकारको रुपमा रहने बताए ।

‘म कुनै तरिकाले महासंघलाई सञ्चालन गर्नेतर्फ हुन्न । महासंघले कुनै किसिमको सल्लाह माग्छ भने मेरो भूमिका सल्लाह दिने मात्रै रहनेछ । अरु भूमिका रहनेछैन’ उनले भने ।


क्लिकमान्डु