दुर्गा प्रसाईंसँग २ करोड बार्गेनिङ गरेको आरोप लागेका रास्वपाका सांसद श्रेष्ठलाई कारबाहीको तयारी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई कारबाहीको तयारी गरेको छ । रास्वपा उपसभापति डीपी अर्यालले पार्टी हितविपरीत काम गरेको देखिए आवश्यक छानबिन गरी कारबाहीको निर्णय गर्ने बताए ।

समानुपातिकबाट सांसद बनेका श्रेष्ठलाई कारबाही गर्ने विषयमा रास्वपाको बैठक बस्दै छ । रास्वपाबाट स्वास्थ्यमन्त्रीमा नाम आएका श्रेष्ठले पार्टीलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ सहयोग मागेको अडियो सार्वजनिक भएको थियो ।

अडियोमा उनले पार्टीको भागमा स्वास्थ्य मन्त्रालय पर्ने भएकाले मन्त्री बन्नका लागि रवि लामिछानेले २ करोड रुपैयाँ माग गरेको बताएका छन् ।

‘मन्त्री बन्नका लागि रवि सरलाई २ करोड बुझाउनुपर्ने कुरा आएको छ । मसँग पैसा छैन । अहिले एक करोडजति दिँदा हुन्छ । एक करोडचाहिँ चेक दिँदा पनि हुन्छ । त्यसैले अलिकति सहयोग चाहिएको छ,’ अडियोमा भनिएको छ ।

जवाफमा प्रसाईंले आफूले २ करोड उपलब्ध गराइदिने ग्यारेन्टी लिएका छन् । अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठमाथि छानबिनका लागि समिति बनाउने तयारी गरेको छ । श्रेष्ठलाई निलम्बन गरी छानबिन अघि बढाइने रास्वपाले जनाएको छ ।

सार्वजनिक भएको अडियो संवाद माघ ३ गते रास्वपा सरकारमा सहभागी हुनुभन्दा अघिको हो ।


क्लिकमान्डु