नयाँ वर्षमा गाडी कम्पनीहरुको अफरः १२ लाख रुपैयाँसम्म छुट



काठमाडौं । नयाँ वर्ष नजिकिएसँगै चार पाङ्ग्रे सवारी साधन कम्पनीहरूले नयाँ वर्ष लक्षित विभिन्न प्रकारका योजना सार्वजनिक गरेका छन् । कम्पनीहरूले नयाँ वर्ष २०८० को अवसरमा विभिन्न छुटसहित अफर सार्वजनिक गरेका छन् ।

आर्थिक संकुचनले गर्दा बजारमा सवारी साधनको माग निकै कम छ । एकातिर माग कम छ भने अर्कोतर्फ ब्याजदर वृद्धिले अधिकांश अटोमोबाइल व्यवसायीहरु मारमा छन् । बजारमा माग नभएपछि अटोमोबाइल व्यवसायीहरुलाई भारी छुट दिई ग्राहकलाई आकर्षित गर्न खोजिरहेका छन् ।

नेपाली बजारमा दर्जनभन्दा बढी अटोमोबाइल कम्पनीहरु छन् । त्यसमध्ये चर्चित ब्रान्ड हुन्डाई, निशान तथा जीएमडब्लू ब्रान्डको सवारी साधन आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको कम्पनीहरुले नयाँ वर्षलाई लक्षित गरी भारी छुट योजनाहरु सार्वजनिक गरेका हुन् ।

अटोमोबाइल कम्पनीहरुले ५ लाखदेखि ८ लाखसम्म छुटको अफर सार्वजनिक गरेका छन् । साथै, विभिन्न योजनामार्फत् करिब १२ लाख रुपैयाँसम्म फाइदा लिन सक्ने कम्पनीहरुले जनाएको छन् ।

नयाँ वर्षमा कुन कम्पनीको कस्तो अफर ?

हुन्डाईः हुन्डाई नेपालको अटोमोबाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना सार्वजनिक गरेको छ । कम्पनीले ग्रान्ड आइटेन निओस गाडीको खरिदमा ग्राहकहरुले विभिन्न योजनासहित नगद छुट प्राप्त गर्न सक्ने योजना सार्वजनिक गरेको हो ।

योजनाअन्तर्गत ग्राहकहरूले ५ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । यो योजनामा नयाँ वर्ष बोनस ८० हजार, एक्सचेन्ज बोनस ८० हजार रुपैयाँसम्म मोडल इएर डिस्काउन्ट २ लाखसम्मको छुट र १ वर्षसम्म नि:शुल्क बीमा तथा सवारी करको सुविधा दिनेछ । साथै, तुरुन्तै मूल्याङ्कन तथा एक्सचेन्जको सुविधा पनि दिने कम्पनीले जनाएको छ ।

निशानः निशानको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले नयाँ वर्ष २०८० को नयाँ अफर सार्वजनिक गरेको छ ।

कम्पनीअनुसार उक्त योजनामार्फत् करिब १२ लाख रुपैयाँसम्म फाइदा लिन सकिने छ । ग्राहकहरुले नयाँ वर्षको योजनामा गाडी खरिद गरेमा अधिकतम ११ लाख ७४ हजार रुपैयाँ फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले गाडी खरिदमा अधिकतम ८ लाख रुपैयाँसम्म नगद छुटको व्यवस्था गरेको छ । त्यसैगरी नयाँ वर्षको अवसरमा अधिकतम बोनस २ लाख रुपैयाँ र ३ वर्षसम्म सर्भिस र वारेन्टीको सुविधा दिनेछ । साथै, सजिलो फाइनान्स सुविधा र १ वर्षसम्म निःशुल्क बीमा तथा सवारी करको पनि व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

जिडब्लूएम: ग्रेट वाल मोटर नेपालले हर्षमय नव वर्ष २०८० योजना सार्वजनिक गरेको छ । कम्पनीले विभिन्न प्रकारका गाडीमा ५ लाखसम्म छुट दिने भएको छ । त्यसका साथै, कम्पनीले स्पेशल सेलिब्रेशन डिस्काउन्ट, एक्स्चेन्ज बोनस, एक वर्ष निःशुल्क बीमा र स्पट मूल्याङ्कनको व्यवस्था गरेको छ ।


क्लिकमान्डु