स्टार्टअप कर्जा लिन सरकारले आह्वान गरेको प्रस्तावमा एक सातामा १४ प्रस्ताव पेस
काठमाडौं । सरकारले स्टार्टअप उद्यमीहरुलाई कर्जा दिनका लागि आह्वान गरेको प्रस्तावमा एक सातामा १४ वटा स्टार्टअपहरुले प्रस्ताव पेस गरेका छन् ।
चैत १६ गते उद्योग विभागले सूचना प्रकाशित गर्दै स्टार्टअप उद्यमका मापदण्ड पूरा गरेकाहरुलाई कर्जाका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको थियो । उक्त सूचना पश्चात एक सातामा १४ वटा प्रस्ताव परेका छन् । उद्योग विभागकी सूचना अधिकारी रमिला भण्डारीकाअनुसार बुधबारसम्म कुल १४ वटा स्टार्टअपहरुले कर्जाका लागि प्रस्ताव पेस गरेका छन् ।
सरकारले केही साताअघि ‘स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९’ जारी गर्दै स्टार्टअप उद्यमका मापदण्ड पूरा गरेकाहरुका लागि कर्जा लिने बाटो खुलाएको थियो ।
विभिन्न मापदण्ड राख्दै सरकारले ३ प्रतिशत ब्याजदरमा ७ वर्षका लागि बिना धितो २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने गरि यो कार्यविधि ल्याएको थियो । स्थापना वा सञ्चालनमा आएको ७ वर्ष ननाघेका र चुक्ता पुँजी ५० लाख तथा वार्षिक कुल आय ५० लाखभन्दा बढि नभएका उद्यमहरुले यो कर्जाका लिन पाउने कार्यविधिमा उल्लेख छ । यसबाहेक पनि विभिन्न मापदण्ड तोक्दै सरकारले स्टार्टअपहरुका लागि कर्जा पाउने बाटो खुलाएको थियो ।
उद्योग विभागकी सूचनाअधिकारी भण्डारीकाअनुसार इमेल र भौतिक रुपमै गरि कुल १४ वटा प्रस्ताव एक सातामा परेका छन् ।
कर्जा बारे सूचना सार्वजनिक भएपश्चात नीजि फर्महरुले योबारेमा धेरै जानकारी लिइरहेको पनि उले बताइन् । उनले भनिन्, ‘तर, यो कर्जाका लागि योग्य हुने भनेको साझेदारी वा कम्पनीमा पनि सहलगानी भएको कम्पनी भनिएको कारणले यसबारे बुझ्नेहरु नै आइरहेका छन् । प्रस्ताव पनि अहिले पर्ने क्रममा नै रहेको छ ।’