सिक्किममा गएको हिमपहिरोमा ३ नेपालीसहित ७ जनाको मृत्यु



काठमाडौं । सिक्किममा मंगलबार गएको हिमपहिरोमा परेर ३ नेपालीको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । हिमपहिरोमा परेर ज्यान गुमाएका ७ जनामध्ये ३ जना नेपाली नागरिक रहेको खुलेको हो ।

त्यस्तै घाइते भएका १३ मध्ये ३ जना नेपाली नागरिक हुन् । हिमपहिरोमा परी नेपालका ३ जना, भारतको उत्तर प्रदेशका २ जना र पश्चिम बंगालका २ जनाको ज्यान गएको हो ।

गान्तोक जिल्ला कलेक्टरले जारी गरेको सूचीअनुसार ज्यान गुमाउनेमा चितवनका शिवप्रसाद लामिछाने, २२ वर्षकी आशिका ढकाल र रुपन्देहीकी २९ वर्षीया मुना शाह श्रेष्ठ छन् । त्यसैगरी उत्तर प्रदेशका ३२ वर्षका बल सिंह र ६ वर्षकी रेव्या सिंह, पश्चिम बंगालका २८ वर्षका सौरभ रोय चौधरी र ३८ वर्षका प्रितम मतिए छन् ।

घाइते १३ जना मध्ये ७ जनालाई गान्तोकको एसटीएनएम अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने ६ जनाको उपचार चलिरहेको छ । घाइतेहरुमध्ये नेपालकी ४० वर्षीया गीता सापकोटा, ३८ वर्षकी ज्योति गुरुङ र ४३ वर्षका रमेश खनालसहित सिलिगुडीका पपल सरकार र रञ्जिता दास र कोलकाताका सुभ्र ज्योतीको उपचार चलिरहेको छ ।

हिमपहिरोमा ज्यान गुमाएकाको शवलाई उनीहरुको घरसम्म राज्य सरकारले पुर्‍याउने निणर्य गरेको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले मंगलबार साँझ एसटीएनएम अस्पतालमा घाइतेसँग भेट गरी उनीहरुको सबै उपचार खर्च राज्य सरकारले वहन गर्ने र मृतकहरुको शव पनि राज्य सरकारले उनीहरुको घरसम्म पुर्‍याउने बताएका हुन् । सिक्किमको नाथुला पासनजिकै छांगुमा मंगलबार हिमपहिरो गएको हो ।


क्लिकमान्डु