उद्योग संगठन मोरङको नयाँ नेतृत्वका लागि ३ आकांक्षी



विराटनगर । उद्योग संगठन मोरङको नयाँ नेतृत्वको लागि ३ जना उद्योगी अघि बढ्ने संकेत देखिएको छ । संगठनको ३ वर्षको कार्यकाल सकिन लाग्दा नयाँ नेतृत्व चयनका लागि तीन उद्योगी आकांक्षी देखिएका हुन् ।

सुयश प्याकुरेल अध्यक्ष रहेको संगठनको वर्तमान कार्यसमितिले वैशाख २९ गते चुनावी साधारणसभा गर्ने निर्णय गरेको छ । साधारणसभामा नेतृत्व हत्याउन ३ जना उद्योगीले प्रारम्भिक चरणमा दाबी प्रस्तुत गरेका हुन् ।

कार्यसमितिका अध्यक्ष प्याकुरेलले पुनः नेतृत्व लिने अग्रसरता नदेखाएपछि संगठनको कार्यसमितिमा पालो कुरेर बसेका पदाधिकारी र सदस्यले अध्यक्ष पदमा उम्मेदवारी दिने चाहना राखेका हुन् । यसरी चाहना राख्नेहरुमा प्रदीप मुरारका, नन्दकिशोर राठी र राकेश सुराना छन् ।

मुरारका संगठनको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष र राठी उपाध्यक्ष हुन् भने सुराना साधारण सदस्य हुन् । सुराना यसअघिको संगठनको साधारणसभा निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा मुरारकासँग झिनो मतले पराजित भएका थिए ।

सामान्यत: संगठनको वरिष्ठ उपाध्यक्ष नै अध्यक्षको उम्मेदवार हुने अवस्था भए पनि त्यो अनिवार्य भने छैन । संगठनका साधारण सदस्य रहेका जुनसुकै व्यक्ति पनि उठ्न पाउने व्यवस्था विधानमा छ । यसअघिका कतिपय चुनावी साधारणसभामा वरिष्ठ उपाध्यक्षभन्दा बाहिरको व्यक्ति उम्मेदवार भएर जितेको इतिहास पनि छ ।

यसपटकको चुनावमा अघिल्लो पटकको चुनावी परम्परालाई कायम राख्न पनि वरिष्ठ उपाध्यक्षले अध्यक्ष पदको उम्मेदवार भएर जित्ने आशा राखेको मुरारकाको बताए । अघिल्लोपटक कार्यसमितिमा वर्तमान अध्यक्ष प्याकुरेल वरिष्ठ उपाध्यक्ष थिए । प्याकुरेल नै सर्वसम्मत अध्यक्ष निर्वाचित भएका थिए ।

त्यस्तै, पदीय शृंखलाभन्दा पनि कामको मूल्यांकनका आधारमा अध्यक्षको उम्मेदवार बनेर सक्षम नेतृत्व दिने राठीले दाबी गरेका छन् । सुरानाले संगठनमा ‘सिन्टिकेट’ अन्त्य गर्न आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने बताए । 

वर्तमान अध्यक्ष प्याकुरेल भने कुनै पनि आकांक्षीको पक्ष वा विपक्षमा खुलेका छैनन् । संगठनको वरिष्ठ उपाध्यक्ष पदमा राजकुमार गोल्छाले दाबी प्रस्तुत गरेका छन् । गोल्छा वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् ।

उनीबाहेक वरिष्ठ उपाध्यक्ष पदमा अहिलेसम्म अरु कसैले दाबी प्रस्तुत गरेका छैनन् । गोल्छा विराटनगरका उद्योगी घरानाभित्र विवादरहित उद्यमीका रुपमा चिनिन्छन् । यसअघि उनका दाजु महेन्द्र गोल्छा संगठनको अध्यक्ष भइसकेका छन् ।


क्लिकमान्डु