उद्योगी व्यवसायीको मनोबल उकास्ने काम गर्न उद्योगीमन्त्री रिजाललाई परिसंघको आग्रह



काठमाडौं । नेपाल उद्योग परिसंघले नवनियुक्त उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजाललाई उद्योगी व्यवसायीहरुको मनोबल उकास्ने काम गर्न आग्रह गरेका छन् ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले नवनियुक्त मन्त्री रिजाललाई विद्यमान अर्थतन्त्र र समस्या समाधानका विषयमा छलफल गरेको हो ।

परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभावलगायतका कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको र अर्थतन्त्र सुधारका लागि उद्योगी व्यवसायीहरुको मनोबल बढाउन आवश्यक रहेको बताए ।

मागमा आएको उच्च संकुचनका कारण नयाँ लगानीका योजना ठप्प भएको, मनोबल निकै खस्किएकाले यसबाट निकास दिनुपर्ने उनले सुझाव दिए । कुल गार्हस्थ उत्पादन (जीडीपी) मा उत्पादनमुलक उद्योगहरुको योगदान निरन्तर घट्दो रहेको भन्दै अध्यक्ष अग्रवालले अर्थतन्त्रमा उत्पादनमुलक उद्योगहरुको योगदान बढाउन वातावरण बनाउनुपर्नेमा जोड दिए ।

उनले औद्योगीकरणले मात्रै दिगो विकास प्राप्त गर्न सकिने र यसले पर्याप्त रोजगारीका अवसरहरु सृजना गर्न सक्ने हुँदा नेपालको औद्योगिकरणलाई उच्च प्राथमिकताका साथ अघि बढाउन अनुरोध गरे । साथै, उनले परिसंघले औद्योगिकीकरणलाई बढावा दिन सरकारसँगको सहकार्यमा अगाडि बढाइरहेको ‘मेक इन नेपाल-स्वदेशी’ अभियानका बारेमा जानकारी गराए । परिसंघले आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्न, चालु आर्थिक वर्षको बजेटमा घोषणा गरिएको औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउन पनि आग्रह गरेको छ ।

नवनियुक्त उद्योग मन्त्री रिजालले वर्तमान अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्रको साथ चाहिएको बताए । मुलुकलाई संमृद्धि बनाउन निजी क्षेत्रलाई प्रोत्साहन नगरी नहुने भन्दैै उनले निजी क्षेत्रको समस्या समाधान गर्न प्रभावकारी रुपमा लाग्ने बताए । ‘म निजी क्षेत्रको साथमा छु । निजी क्षेत्रको समस्या समाधान गर्न पूर्ण रुपमा लाग्नेछु, चिन्ता नगुर्न’ उनले भने । त्यसका लागि परिसंघसँग सहकार्य गर्ने पनि बताए ।


क्लिकमान्डु