उधारो उठाउने कानुन, स्टार्टअप नीति पारित गर्न उद्योग मन्त्रीलाई महासंघको आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग सोमबार भेटवार्ता गरेका छन् ।

भेटमा अध्यक्ष गोल्छाले अर्थतन्त्र संकटोन्मुख हुँदा त्यसको प्रत्यक्ष प्रभाव उद्योग व्यवसायमा पर्न गएको बताए । अर्थतन्त्रमा अहिलेको संकट समाधानका लागि मन्त्रालयले ठोस पहल गर्नुपर्ने उनले बताए ।

अहिले बजारमा तरलता प्रवाह बढाउनुका साथै अन्य उपकरणको प्रयोग गरि ब्याजदर घटाउनु पर्ने सुझाव उनको थियो । बजारमा माग नहँुदा उद्यम व्यवसाय आधा भन्दा कम क्षमतामा चलिरहेकोले बजारमा विश्वास बढाउनुपर्ने अध्यक्ष गोल्छाको सुझाव छ ।

‘अब अवस्था सहज बनाउन सरकारले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने बातावरण बनाउनै पर्छ, अध्यक्ष गोल्छाले भने ‘वितरणमुखी हुने कुरामा हामी गयौं भने संकटमा पर्छौ नै ।’

अध्यक्ष गोल्छाले बाह्य लगानी ल्याउन दाताहरुसंग सम्मेलन गर्न पनि सुुझाव दिए । बजारमा उधारोको समस्या विकराल बन्दै गएको अवस्थामा उधारो उठाउने सम्बन्धि कानुन यथाशीघ्र ल्याउनुु पर्नेमा जोड दिए ।

अध्यक्ष गोल्छाले बहुप्रतिक्षित स्टार्टअप नीति तत्काल पारित गर्न पनि मन्त्री रिजाल समक्ष आग्रह गरे । महासंघको पहलमा निर्माण भएको नीति सबै निकायबाट सुझाव समेटेर तयारी अवस्थामा छ ।

महासंघ स्टार्ट अप तथा इनोभेसन समितिका सभापति रन्जित आचार्यले हालै जारि भएको स्टार्ट अप कर्जा कार्यविधिको प्रभावकारी कार्यान्वयनका लगि पनि नीति आवश्यक रहेको बताए । भेटमा वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले उपलब्ध भएसम्मका सबै उपाय र उपकरण प्रयोग गरेर भएपनि बजारमा लगानी बढाउन र निजी क्षेत्रमा विश्वासको वातावरण बनाउने काममा सरकार लाग्नु पर्ने सुुझाव दिए ।


क्लिकमान्डु