उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यासी श्रेष्ठको प्यानल तयार



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठले प्यानल घोषणा गरेका छन् । उपाध्यक्ष पदमा दिनेश श्रेष्ठ, हेमराज ढकाल र भरतराज आचार्यलाई साथ लिएर श्रेष्ठले प्यानल तयार गरेका हुन् ।

उपाध्यक्ष पदका लागि उनको प्यानलबाट जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ, वस्तुगततर्फ ढकाल र एसोसिएटतर्फ आचार्यले उम्मेदवारी दिएका छन् ।

‘सक्षम निजी क्षेत्र, समृद्ध अर्थतन्त्र’ नारा लिएर चुनावी मैदानमा उत्रिएका श्रेष्ठले कमजोर पुँजीगत खर्च, व्यापार घाटा, बेरोजगारी, मूल्यवृद्धि, कमजोर पूर्वाधार, भ्रष्टाचार, निर्यात व्यापार, कमजोर व्यावसायिक वातावरण लगायतलाई अर्थतन्त्रका चुनौतीका रुपमा उल्लेख गरेका छन् ।

महासंघले व्यावसायिक वातावरणमा सुधार गर्न नीति निर्माणका विषयमा बहस पैरवी गर्न सक्ने उनले बताएका छन् । त्यस्तै तालिम र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरी निजी क्षेत्रको विकासमा सहयोग गर्ने उनको भनाइ छ ।

‘लगानीका अवसर पहिचान गरी अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न सकिन्छ,’ उनले भने, ‘प्राकृतिक स्रोत, मानव पुँजी र व्यावसायिक वातावरणको सम्भाव्यतालाई अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्न सकिन्छ ।’

त्यस्तै नवप्रवर्तन व्यवसायलाई समर्थन र कर्पोरेट सामाजिक उत्तरदायित्व प्रवर्धनमा पनि महासंघले भूमिका खेल्ने उनले बताए ।


क्लिकमान्डु