कच्चा तेलको उत्पादन घटाउने ओपेकको निर्णय, इन्धनको मूल्य बढ्ने



एजेन्सी । साउदी अरबसहित तेल उत्पादन तथा निर्यात गर्ने देशहरुको संगठन (ओपेक)ले कच्चा तेलको उत्पादन घटाउने निर्णय गरेको छ ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाधयमकाअनुसार ओपेक देशहरुले हाल कच्चा तेलको मूल्यमा भइरहेको गिरावटका कारण कच्चा तेलको उत्पादन कम गर्ने निर्णय गरेका हुन् ।

बिबिसीकाअनुसार आइतबार ओपेक राष्ट्रहरुका पदाधिकारीहरुबीच भएको बैठकमा दैनिक ११ लाख ५० हजार ब्यारल (१.१५ मिलियन) कच्चा तेलको उत्पादन कम गर्ने निर्णय भएको थियो ।

ओपेक समूह विश्वभर निर्यात हुने तेलमध्ये ४० प्रतिशत क्रुड तेलको निर्यातकर्ता हो । आइतबार भएको निर्णयपछि भने यसरी निर्यात हुने कच्चा तेलमा कमि आएको छ । यो निर्णयका कारण विश्वभरमा नै तेलको मूल्यमा उच्च बृद्धि देखिन सक्ने अवस्था आएको बिबिसीले जनाएको छ ।

कच्चा तेलको उत्पादनमा भएको कमिका कारण हाललाई ब्रेट क्रुड तेलको मूल्य प्रति ब्यारल ५ डलरबाट बढेर ८५ डलर पुगेको बिबिसीले जनाएको छ । तेलको मूल्य रुस र युक्रेनबीच द्वन्द्वको सुरुवात हुँदै निकै आकाशिएको थियो । तर, हाल भने युद्धअघि कै अवस्थामा कारोबार भइरहेको थियो ।

तर, अकस्मात आएको ओपेक राष्ट्रहरुको निर्णयका कारण पुनः विश्व बजारमा तेलको मूल्य बढ्ने देखिएको छ । ओपेक राष्ट्रहरुले भने कच्चा तेलको हालको मूल्य निकै न्युन भएको जनाएका छन् ।

साउदी अरबले प्रति दिन ५ लाख ब्यारल कच्चा तेलको उत्पादन कम गरेको छ भने इराकले दैनिक २ लाख ११ हजार ब्यारल तेल कम उत्पादन गर्ने जनाएको छ । ओपेक राष्ट्रहरुको निर्णयपछि हाल युएई, अल्जेरिया, ओमानलगायतका देशहरुले पनि कच्चा तेलको उत्पादन कम गर्ने बताइरहेका छन् ।


क्लिकमान्डु