पर्यटक बढ्दा कालिञ्चोक दर्शनको आम्दानी ५४ प्रतिशतले बढ्यो, २५ करोड लगानीमा होटल बनाउने
काठमाडौं । कालिञ्चोकमा पर्यटक बढ्दा कालिञ्चोक दर्शनको आम्दानी ५४.०४ प्रतिशतले बढेको छ ।
दोलखा जिल्लाको कालिञ्चोकमा केबलकारको सेवा दिँदै आएको कम्पनीको आम्दानी सन् २०२१ को तुलनामा सन् २०२२ मा ५४.०४ प्रतिशतले बढेको हो ।
कम्पनीअनुसार सन् २०२१ मा ९० हजार पर्यटक पुगेका थिए । सन् २०२२ मा १ लाख ३२ हजार पर्यटक पुगेको कम्पनीले जनाएको छ । जसमा पर्यटक बढेसँगै आम्दानीमा पनि उछाल आएको कम्पनीको भनाइ छ ।
कम्पनीले सन् २०२१ मा ३ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो । तर, सन् २०२२ मा पर्यटकको आगमन बढेकाले एकै वर्ष ५ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ ।
त्यस्तै, कम्पनीले सन् २०२३ को ६ महिनाको अवधिमा २ करोड ६० लाख रुपैयाँ आम्दानी गरिसकेको छ । उक्त अवधिमा कालिञ्चोक दर्शनका लागि ६५ हजार पर्यटक पुगेका छन् । साथै, आगामी ६ महिनामा भित्र अझै ५० हजार पर्यटकको आगमन हुने कम्पनीले अनुमान गरेको छ ।
कम्पनीको आम्दानी उपयुक्त मौसमको आधारमा पर्यटकको आगमन घटबढ हुने गर्छ । विशेषगरी कालिन्चोकमा चिसो मौसममा बढी पर्यटकहरु जाने गर्छन् । त्यसैले, कम्पनीले एक आर्थिक वर्षमा आम्दानी गरेकोमध्ये ५० प्रतिशत चिसो मौसममा हुने गरेको छ ।
त्यस्तै, कम्पनीले २५ करोड लगानीमा होटल सञ्चालन गर्ने तयारी गरेको छ । कम्पनीले ३५ वटा कोठाको सुविधासहित २५ करोड लगानीमा होटल निर्माण गर्ने तयारी गरेको हो । कम्पनीले सन् २०२६ सम्ममा होटल निर्माण सम्पन्न गर्ने जनाएको छ ।
कम्पनीको अध्यक्षमा बालकृष्ण शिवाकोटी रहेका छ । सन् २०१५ देखि सञ्चालनमा आएको केबलकारको लम्बाई १ किलोमिटर छ । केबलकारमा ४ वटा गोन्डोला रहेको छ । केबलकारबाट प्रतिघण्टा १९२ पर्यटकलाई सुविधा दिँदै आएको छ ।