आठ महिनामा अख्तियारका २१ स्टिङ अप्रेसन, घुस लिँदालिँदै पक्राउ परे वडाध्यक्षदेखि उप-सचिवसम्म



काठमाडौं । चालू आर्थिक वर्षमा हालसम्म अख्तियारले २१ वटा स्टिङ अप्रेसन गरेको छ । चालू आर्थिक वर्षको सुरुवाती साढे ८ महिना (चैत १६) गतेसम्ममा अख्तियारले २१ वटा स्टिङ अप्रेसन गरेको हो । यसरी गरिएको स्टिङ अप्रेसनमा अख्तियारले मन्त्रालयका उपसचिवदेखि वडाध्यक्षसम्मलाई पक्राउ गरेको छ ।

अख्तियारले गरेका २१ स्टिङ अप्रेसनबाट ९४ लाख १४ हजार ९४३ रुपैयाँ रकम नगद तथा चेकका रुपमा घुस तथा स्रोत नखुलेको अवस्थामा बरामद गरिएको छ । यसमध्ये सबैभन्दा धेरै घुस लिएको अवस्थामा पक्राउ पर्नेमा बागमती प्रदेशको रामेछापस्थित मन्थलीको खानेपानी तथा सरसफाइ डिभिजन न. ४ का इन्जिनियर (आठौं तह) नवराज सत्याल र करारमा कार्यरत प्लम्बर बखतबहादुर थापा छन् । उनीहरुलाई अख्तियारको टंगाल कार्यालयबाट खटिएको टोलीले १६ लाख नगद र १२ लाख रुपैयाँको चेक लिइसकेको अवस्थामा कात्तिक २ गते पक्राउ गरेको थियो ।

चालू आर्थिक वर्षमा अख्तियारको स्टिङ अप्रेसनमा पक्राउ पर्ने सबैभन्दा ठूलो ओहोदाका सरकारी कर्मचारीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नागरिक उड्डयन महाशाखाका उप-सचिव प्रमोद नेपाल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख पूर्णप्रसाद चुँडाल (नवौं तहका कर्मचारी) छन् ।

अख्तियारले नेपाललाई साउनमा पक्राउ गरेको थियो । नेपालविरुद्ध अख्तियारले सेवाग्राहीलाई प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि ६ लाख रुपैयाँ घुस माग गरेको भन्दै परेको उजुरी निवेदनका आधारमा स्टिङ अप्रेसन गरेको थियो । उनलाई आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।

सँगै नेपालले प्रयोग गरेको गाडीमा स्रोत नखुलेको १६ लाख ५० हजार रुपैयाँ गरी कुल २२ लाख ५० हजार रुपैयाँ बरामद भएको थियो । अख्तियारले नेपाललाई काठमाडौं-१ स्थित होटल अर्न्याको कम्पाउन्डबाट नियन्त्रणमा लिएको थियो ।

त्यस्तै, चुँडाललाई माघ ९ गते अख्तियारको टंगालबाट खटिएको टोलीले सेवाग्राहीसँग १ लाख ५० हजार घुस लिइसकेपछिको अवस्थामा पक्राउ गरेको थियो । चुँडालले एयरपोर्ट (आन्तरिक टर्मिनल)सम्म आवतजावत गर्न पास उपलब्ध गराई सहजीकरण गरिदिएको भन्दै सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरी निवेदनका आधारमा अख्तियारले स्टिङ अप्रेसन गरेको थियो । उनलाई नियन्त्रणमा लिएर कार्यकक्षमा खानतलासी गर्दा स्रोत नखुलेको थप ८ लाख रुपैयाँ पनि बरामद भएको थियो ।

उपसचिवदेखि वडाध्यक्षसम्म पक्राउ

चालू आवमा हालसम्म अख्तियारले गरेको स्टिङ अप्रेसनमा पक्राउ पर्ने उच्च अहोदाका कर्मचारी चुँडाल र नेपाल नै हुन् । यसबाहेक पक्राउ परेका अधिकांश कर्मचारी त्यसभन्दा तल्लो तहका छन् ।

चालू आवको सुरुवातमा नै साउन १ गते अख्तियारले कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढाक्षेत्रीलाई पक्राउ गरेको थियो । उनलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको थियो ।

त्यस्तै, अख्तियारले साउन १८ गते आन्तरिक राजस्व कार्यालयको महाराजगन्ज कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानलाई पक्राउ गरेको थियो । कम्प्युटर बिलिङ सफ्टवेयर स्वीकृतिका लागि सेवाग्राहीसँग ३० हजार घुस लिइसकेको अवस्थामा अख्तियारले उनलाई पक्राउ गरेको थियो ।

भदौ १ गते काठमाडौं उपत्यका खानेपानी लिमिटेड महांकाल चौर शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल पक्राउ परेका थिए । उनलाई ५ हजार घुस रकमसहित पक्राउ गरिएको थियो । खानेपानी धरा जडानका लागि सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा उनलाई कार्यकक्षबाटै पक्राउ गरिएको थियो ।

भदौ १० गते कर्णाली प्रदेशको यातायात व्यवस्था कार्यालय सुर्खेतमा कार्यरत मेकानिकल इन्जिनियर दिपक बम र विचौलिया नीरकबहादुर शाहीलाई अख्तियारले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई ३ हजार घुससहित अख्तियारले नियन्त्रणमा लिएको थियो ।

कात्तिक १ गते जिल्ला प्रशासन कार्यालय पर्साको मुद्दा फाँटमा कार्यरत कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादव ५ हजार घुससहित पक्राउ परेका थिए । कात्तिक ४ गते काठमाडौंको डिल्लीबजारस्थित मालपोत कार्यालयमा कार्यरत कार्यालय सहयोगी होमनाथ खतिवडा ५ हजार घुससहित पक्राउ परेका थिए ।

त्यस्तै, कात्तिक १८ गते अख्तियारले धनुषाको जटहीस्थित लम्काको सीमा प्रहरी चौकीमा कार्यरत प्रहरी नायव निरीक्षक देवकीलाल चौधरीलाई ४ हजार घुससहित नियन्त्रणमा लिइएको थियो । उनलाई पसलका सञ्चालकसँग पसल सञ्चालन गर्न महिनावारी रुपमा रकम दिनुपर्ने अन्यथा पसल सञ्चालन गर्न नदिने भन्दै घुस लिएको अवस्थामा पक्राउ गरिएको थियो ।

कात्तिक २९ गते बुद्धनगरस्थित वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेलाई ३० हजार घुस लिइसकेको र ३२ हजार ५५ रुपैयाँ स्रोत नखुलेको रकमसहित अख्तियारले नियन्त्रणमा लिएको थियो ।

त्यस्तै, मंसिर ९ गते नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सशस्त्र प्रहरी बल नेपालको सेमरीस्थित सुरक्षा बेसक्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान मुख्तार देवानलाई ७ हजार घुससहित नियन्त्रणमा लिइएको थियो ।

माघ ३ गते सप्तरीको शम्भुनाथ नगरपालिकाका इन्जिनियर रामचन्द्र शाहलाई अख्तियारले १ लाख ४० हजार घुससहित नियन्त्रणमा लिएको थियो । माघ १२ गते काठमाडौंको बबरमहलस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका इन्जिनियर योगेन्द्र ढुंगेललाई १ लाख ५० हजार घुससहित अख्तियारले पक्राउ गरेको थियो ।

अख्तियारले फागुन १८ गते महोत्तरीको जलेश्वरको भूमिसुधार तथा मालपोल कार्यालयमा कार्यरत नायब सुब्बा र लेखापढी व्यवसायी सुभाष चन्द्रलाल कर्णलाई ९ लाख घुससहित पक्राउ गरेको थियो ।

त्यस्तै, फागुन २१ गते रुपन्देहीको विष्णुपुराको सशस्त्र प्रहरी बलको सुरक्षा बेसक्याम्पमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनलाई २० हजार घुससहित पक्राउ गरिएको थियो ।

माघ २५ गते ललितपुर महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पाडेललाई अख्तियारले पक्राउ गरेको थियो । उनलाई अख्तियारले १ लाख घुससहित पक्राउ गरेको थियो ।

त्यस्तै, चालू महिना चैतयता पनि अख्तियारले चार जनालाई स्टिङ अप्रेसनका क्रममा पक्राउ गरेको छ । चैत ३ गते पोखरा महानगरपालिकाको २८ नम्बर वडा कार्यालयमा कार्यरत सब-इन्जिनियर प्रबिन बिक १५ हजार घुससहित पक्राउ परेका थिए ।

चैत ८ गते धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको १९ नम्बर वडाका वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायलाई ५० हजार घुसससहित पक्राउ गरिएको थियो ।

त्यस्तै, चैत १४ गते काठमाडौंको मनमैजुस्थित नापी कार्यालयमा कार्यरत सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कीलाई अख्तियारले घुससहित नियन्त्रणमा लिएको थियो ।

सर्भेक्षक उपरकोटी र लेखापढी व्यवसायी कार्कीलाई सेवाग्राहीबाट १ लाख ७५ हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिई खानतलासी गर्दा स्रोत नखुलेको ७ लाख ६९ हजार ५०० रुपैयाँ बरामद भएको थियो ।

सँगै कार्कीको नाममा काटिएको १६ लाखको चेक थान (तीन थान) तथा सर्भेक्षक उपरकोटीको साथबाट स्रोत नखुलेको १ लाख ५ हजार ३८ बरामद गरिएको अख्तियारले जनाएको छ ।

चैत १६ गते अख्तियारले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र वडा नम्बर ७ का वडाध्यष भीमबहादुर यादवसहित विचौलिया विनोद भरलाई ५० हजार घुस रकमसहित पक्राउ गरेको थियो ।

गत आवसँग तुलना गर्दा चालू आर्थिक वर्षको चैत १६ सम्ममा अख्तियारले ५ वटा बढी स्टिङ अप्रेसन गरेको छ । गत वर्ष चैत १६ सम्ममा १६ वटा स्टिङ अप्रेसन भएका थिए ।


क्लिकमान्डु