बेथिति रोकिएको छ, तीन महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नेतृत्वको सरकारले तीन महिनाको अवधिमा महत्त्वपूर्ण काम गरेको बताएका छन् ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार दिउँसो अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले थिति बसाल्न तीन महिनामा महत्त्वपूर्ण काम भएको बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘बेथितिहरू अन्त्य गर्न र थिति बसाल्न यस अवधिमा महत्त्वपूर्ण काम भएका छन् । मन्त्रिपरिषदको बैठकबाट निजी क्षेत्रको समस्या समाधानका लागि मौद्रिक नीतिमा सहजीकरण गरिएको छ। राजस्व संकलनमा सुधार आएको छ, विदेशी मुद्रा सञ्चिति बढेको छ, रेमिट्यान्समा पनि सुधार आएको छ, सेवा प्रवाह गर्ने कार्यालयका लामा लामा लाइन हटेका छन् । राहदानी, लाइसेन्सलगायतका काममा विगतको झन्झट हटेका छन्। यसलाई ठीक ढंगले बुझेर जनतामा लैजाऊँ ।’

त्यस्तै सुशासन र समृद्धिका लागि महत्त्वपूर्ण काम भएको र कानुन निर्माणका कामले गति लिएको प्रधानमन्त्रीको दाबी छ । ‘एउटा समीकरणबाट सरकार गठन भयो, तर राष्ट्रिय सहमति खोज्दै जाँदा सहमति भएन, त्यसपछि अर्को गठबन्धनमा जानुपर्ने परिस्थिति आयो । त्यसले गर्दा कतिपय भएका काम पनि ओझेल परेकोजस्तो भएको छ । आज सरकार विस्तार भएपछि सरकारले गति लिन्छ,’ उनले भने ।

नेपालको क्रान्तिकारी आन्दोलनमा महिलाले प्रदर्शन गरेको वीरता र बलिदानीबाट नेपालमा युगान्तकारी परिवर्तन आएको उनले स्मरण गरे । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको र संविधानले महिला अधिकारलाई उचाइका साथ प्रबन्ध गरेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

प्रधानमन्त्रीले भने, ‘विश्व राजनीति नै नयाँ ध्रुवीकरणमा छ । त्यसको विश्वव्यापी प्रभाव छ । रूस-युक्रेन युद्धपछि विश्व परिस्थितिमा आएको फेरबदललाई ठीक ढंगले बुझ्न र सोही अनुरूपको राष्ट्रिय नीति आवश्यक छ ।’


क्लिकमान्डु