म्युचुअल फन्डलाई दिएको कोटा हटाउँदै धितोपत्र बोर्ड, सर्वसाधारणले पाउने न्यूनतम थ्रेस होल्ड बढाउने



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सामूहिक लगानी कोष (म्युचुअल फन्ड)लाई दिइँदै आएको ५ प्रतिशत कोटा हटाउने बताएका छन् ।

म्युचुअल फन्डले बजार विकासमा जुन रुपमा सहयोग गर्नुपर्ने हो, त्यो नगरेपछि कोटा हटाउन लागिएको उनले बताए । बुधबार राजधानीमा सेयर लगानीकर्ताले आयोजना गरेको अन्तक्र्रियामा हमालले भने, ‘म्युचुअल फन्डले बजार विकासमा कस्तो सहयोग गरेका छन, त्यसको मूल्यांकन हामीले गर्नैपर्छ ।’

फन्डले बजारलाई दिनुपर्ने आउटपुट दिएका छन् कि छैन भनेर मूल्यांकन गरेर उनीहरुलाई दिइएका कोटा र प्रावधानमा पुनर्विचार गर्न लागिएको उनले बताए । लगानीकर्तालाई बढीभन्दा बढी लगानीको वातावरण दिनका लागि कोटा हटाउनुपर्ने देखिएको अध्यक्ष हमालको भनाइ छ ।

धितोपत्र बोर्डले चालू आर्थिक वर्षको बजेट निर्माणका लागि गत वर्ष अर्थ मन्त्रालयलाई बजेटमा राख्ने सुझाव पठाउने क्रममा पनि म्युचुअल फन्डलाई दिँदै आएको कोटा हटाउन सुझाव दिएको थियो ।  तत्कालीन समयमा बोर्डले उक्त कोटा खारेज गरेर विदेशमा रहेका नेपालीलाई दिन भनेको थियो ।

बोर्डले रोजगारीका क्रममा विदेशमा रहेका नेपालीका लागि १० प्रतिशत कोटा दिने नीति कार्यान्वयनमा ल्याइसकेको छ । तर, फन्डलाई दिँदै आएको आरक्षण हटाएको छैन ।

सेयर बजारको ज्ञान नभएका लगानीकर्तालाई लगानी सुरुवात गर्ने माध्यमको रुपमा म्युचुअल फन्डलाई लिइन्छ । बजारका बारेमा कम ज्ञान भएका लगानीकर्ता जो दोस्रो बजारमा जान सक्दैनन्, उनीहरुले म्युचुअल फन्डमा सुरक्षित लगानी गर्न सक्छन् । त्यसैले फन्डलाई हरेक कम्पनीको प्राथमिक निष्कासनको ५ प्रतिशत सेयर छुट्याइएको छ ।

अध्यक्ष हमालले कतिपय ठूल्ठूला कम्पनीले पनि १० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने र ९० प्रतिशत आफैं राख्ने गरेको भन्दै त्यसलाई बढाउने बताए ।

‘सर्वसाधारणलाई छुट्याउने गरेको १० प्रतिशतलाई बढाउने हो भने लगानीकर्तालाई बढीभन्दा बढी लगानी गर्ने वातावरण सिर्जना हुनेछ,’ उनले भने, ‘बलिया-बलिया कम्पनीका लागि नीति परिमार्जन गर्ने सोच बनाएका छौं । हामी ठूल्ठूला कम्पनीले सर्वसाधारणका लागि १० प्रतिशत मात्रै सेयर निष्कासन नगरुन् भन्ने चाहन्छौं । मिनिमम थ्रेस होल्ड कम भयो । यो बढाउनुपर्छ ।’


क्लिकमान्डु