कोशी प्रदेश: प्रदर्शनकारी र प्रहरीबीच झडप



विराटनगर । कोशी प्रदेशको नामकरण खारेजीको माग गर्दै आन्दोलन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच विराटनगरमा झडप भएको छ । विराटनगरको पाञ्चाली मोड र त्यस क्षेत्रको आसपासमा प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा तोड्ने प्रयास गर्दा झडप भएको हो ।

झडपका क्रममा आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको मोरङका प्रहरी प्रमुख उपरीक्षक दीपक पोखरेलले बताए । सो क्रममा ईँटा र ढुंगा लागेर ६ जना प्रहरी घाइने भएको उपरीक्षक पोखरेलले बताए । प्रदर्शनकारीतर्फ के कतिको संख्यामा घाइते भएन भएनन् भन्ने आफूलाई थाहा नभएको उनको भनाइ छ ।

प्रदर्शनकारीलाई निस्तेज पार्न पाञ्चाली मोड आसपासमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो । त्यहाँस्थित बिग होटलमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशाला सञ्चालित थियो ।

सो समयमा होटलबाहिर सडकमा प्रदर्शन गरिएको थियो । सो कार्यक्रममा कोशी प्रदेशका सभासद सहभागी हुने सूचना पाएर प्रदर्शनकारीहरु त्यहाँ पुगेको बताइएको छ । प्रदर्शनकारीहरु कोशी प्रदेशको नाम खारेज गर्न दबाब दिने उद्देश्यले त्यहाँ पुगेको प्रदर्शनमा सहभागी टेकबहादुर लिम्बूले बताए ।

होटलबाहिरको सडकमा प्रदर्शनकारीको ठूलो उपस्थितिपछि होटेल आसपासका क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाएको थियो । सुरक्षाकर्मीले प्रदर्शनकारीलाई होटलबाहिरको सडकबाट हटाउने क्रममा झडप भएको घटनाका प्रत्यक्षदर्शी राम बरालले बताए ।

प्रहरी र आन्दोलनकारी बीचको झडपका कारण विराटनगरको पाञ्चाली मोड क्षेत्र केहीबेर तनावपूर्ण बनेको थियो । होटलबाहिर प्रदर्शनपछि होटलमा युएनडीपीद्वारा आयोजित कार्यक्रम केहीबेर स्थगित गरेर पुनः सुरु गरिएको बताइएको छ । कार्यक्रम मंगलबार र बुधबारको लागि तय गरिएको छ । प्रदर्शनकारीहरुले सो ठाउँ छोडेर गन्तव्यतर्फ लागेको प्रहरीको भनाइ छ ।

यसअघि सो कार्यक्रम मोरङको सुन्दरहरैंचास्थित विराटचोकको एक होटलमा तय गरिएको थियो । त्यहाँ कोशी प्रदेश पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले घेर्न आउने भएपछि असुरक्षा देखाएर विराटनगरको होटल बिगमा राखिएको बताइएको छ । यस विषयमा सुरक्षा निकाय बोल्न चाहेन ।

मंगलबार दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सबै सांसदहरुलाई निमन्त्रणा गरिएको बताइएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले सो कार्यक्रममा को को मन्त्री जाने भनेर आफूलाई थाहा नभएको बताए । मुख्यमन्त्री कार्कीको त्यस होटलमा जाने कार्यक्रम तय नभएको उनले दाबी गरे ।

कोशी प्रदेश पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका अध्यक्ष डकेन्द्र सिं थेगिमले आन्दोलन रुवरुप सांसदहरुलाई होटलमै घेरेर हाम्रो मागको विषयमा ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको बताए ।

मृतकको शव अझै उठेन

कोशी प्रदेश नामाङ्कन खारेजीको मागसहित चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते बेलबारी–२ का पदम लिम्बू लाजेहाङको गत १० गते मृत्यु भएको थियो । धरानको वीपी कोइराला विज्ञान प्रतिष्ठानमा रहेको उनको शव अझै उठ्न सकेको छैन ।

गत फागुन १७ गते तत्कालिन प्रदेश १ को नाम ‘कोशी प्रदेश’ को रुपमा पारित भएको थियो । कोशी प्रदेश नामाङ्कनप्रति असन्तुष्टि जनाउँदै संयुक्त संघर्ष समितिले सो नाम खारेज गरी पहिचानसहितको नामकरण राख्नुपर्नेमा जोड दिदै सडक संघर्ष सञ्चालन गरिरहेको छ ।


क्लिकमान्डु