सहकारीकर्मीले रिले अनसन थालेपछि सहकारी महासंघले गठन गर्‍यो वार्ता टोली



काठमाडौं । बचतकर्ताको पैसा फिर्ता गर्न नसक्ने सहकारी संस्थाका प्रतिनिधि रिले अनसन बस्न थालेपछि राष्ट्रिय सहकारी महासंघले वार्ता टोली गठन गरेको छ ।

सोमबार महासंघको मूलद्वारमा विभिन्न १३ बुँदे माग राख्दै केही सहकारी संस्थाका प्रतिनिधिले रिलेअनसन सुरु गरेका थिए । सहकारी संस्थाको रक्षा र सदस्यको बचतको सुरक्षाका लागि भन्दै रिलेअनसन बस्नेहरुका सहकारीले पनि बचतकर्ताको बचत फिर्ता गर्न नसकेको बताइन्छ ।

बचत फिर्ता गर्न नसकेपछि १३ बुँदे मागसहित केही व्यक्तिले रिले अनसन सुरु गरेका छन् । सहकारी संस्थाका प्रतिनिधिले नै महासंघको बिरोधमा अनसन बस्न थालेपछि महासंघले सहकारीमा देखिएका समस्या समाधान गर्न महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको संयोजकत्वमा तीन सदस्यीय समस्या समाधान संयोजन समिति गठन गरेको छ ।

समितिका सदस्यहरुमा शिव डाँगी र राजेन्द्र पौडेल रहका छन् । डाँगी र पौडेल महासंघका सञ्चालक हुन् ।

समितिले सहकारी बचाऔं राष्ट्रिय अभियानका तर्फबाट प्रस्तुत १३ बुँदे मागलाई आत्मसात गर्दै अभियानको साख समेत जोगाउनु पर्ने समयमा विषयगत केन्द्रीय संघ, राष्ट्रिय सहकारी बैंक, प्रदेश तथा जिल्लास्तरीय सहकारी संघ, नियामक निकाय र सरोकारवाला सबैसँग आवश्यक समन्वय गरी समस्या समाधानको पहलकदमी गर्ने छ ।


क्लिकमान्डु