आइफोन र डेल बेच्ने जेनेरेशन नेक्स्ट कम्युनिकेशनले एकै वर्ष गर्‍यो साढे ३ अर्बको व्यापार



काठमाडौं । नेपाली बजारमा आइफोन (एप्पल ब्रान्ड) र डेल ब्रान्डको सामग्री बेच्ने जेनेरेशन नेक्स्ट कम्युनिकेशन प्रालिले एकै वर्ष साढे ३ अर्ब बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ३ अर्ब ५७ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२१ मा १ अर्ब ९५ करोड ३० लाख रुपैयाँ र सन् २०२० मा ९४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२२ मा ८३ प्रतिशतले व्यापार बढेको जनाएको छ ।

सन् २०१० मा स्थापना भएको कम्पनीले ग्राहकहरुलाई इलेक्ट्रोनिक सामग्री बिक्री वितरण गर्दै आएको छ । नेपालको लागि डेल ब्रान्डको सामग्री बेच्ने आधिकारिक विक्रेतामध्ये कम्पनी पनि एक हो । साथै, कम्पनी एप्पल प्रोडक्टको आधिकारिक विक्रेता पनि हो ।

कम्पनीले अल्पकालीन कर्जाका लागि मात्रै १ अर्ब ८५ करोड ३ लाख रुपैयाँ अर्थात् एफोर प्लसको रेटिङ गराएको छ ।

भिमसरिया ग्रुपद्वारा सञ्चालित यस कम्पनीका अध्यक्ष पवनकुमार भिमसरिया हुन् । पछिल्ला ५ वर्षमा आम्दानी निरन्तर ३७ प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।

उच्च आयातका कारण विदेशी सञ्चिती घट्दै गएको र तरलता अभाव भएको भन्दै सरकारले पैठरीमा कडाइ गरेको थियो । सरकारले पहिलो चरणमा ६ सय डलरभन्दा बढी मूल्यको स्मार्टफोन आयातमा प्रतिबन्ध लगाएको थियो ।

त्यस्तै, दोस्रो चरणमा उक्त व्यवस्थालाई संशोधन गरेर ३ सय डलरभन्दा बढी मूल्यको स्मार्टफोन आयातमा प्रतिबन्ध गरेको थियो । उक्त कडाइले गर्दा आइफोनका व्यापार उच्च प्रभाव परेको कम्पनीले जनाएको छ ।

कम्पनीले सन् २०२२ मा ६.२० प्रतिशतले नाफा कमाएको जनाएको छ । सन् २०२१ मा ५.४३ प्रतिशत र सन् २०२० मा ५.१६ प्रतिशत नाफा कमाएको थियो ।

देशभर डेल प्रोडक्टको सयभन्दा बढी डिलर र एप्पल ब्रान्डको २५ भन्दा बढी आधिकारिक रिसेलर रहेको कम्पनीले जनाएको छ । काठमाडौं उपत्यकामा कम्पनीको दुईवटा आधिकारिक एप्पल सर्भिस सेन्टर रहेको छ ।


क्लिकमान्डु