जुनेली ब्रान्डको दाल बेच्ने कम्पनीको व्यापार झनै खस्कियो



काठमाडौं । नेपाली बजारमा जुनेली ब्रान्डको दाल बेच्ने सूर्य पल्स र प्रोसेसिङ प्रालिको व्यापार झनै खस्किएको छ । कम्पनीको तथ्याङ्कअनुसार हरेक वर्ष व्यापार कम हुँदै गएको छ ।

कम्पनीले सन् २०२० मा १ अर्ब ७४ करोड रुपैयाँको व्यापारको गरेको थियो । त्यस्तै, सन् २०२१ मा व्यापार घटेर १ अर्ब ४५ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२२ मा झनै घटेर १ अर्ब ३६ करोड ४० लाख रुपैयाँको मात्रै व्यापार गरेको कम्पनीको भनाइ छ । कम्पनीकाअनुसार सन् २०२१ को तुलनामा सन् २०२२ मा ६.३१ प्रतिशतले व्यापार कम भएको छ।

कम्पनीले चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा ७२ करोड रुपैयाँको व्यापार गरेको जनाएको छ । सन् २०२२ मा कम्पनीले ५.१८ प्रतिशतले नाफा कमाएको छ ।

सन् २००८ मा स्थापना भएको कम्पनीले सन् २०१३ देखि व्यापार गर्दै आएको थियो । कम्पनीले विभिन्न देशबाट दाल तथा दाना आयात गरी नेपालमा प्रशोधन गर्दै बजारमा बिक्री वितरण गर्दै आएको छ । अष्ट्रेलिया, बर्मा, तान्जानिया र क्यानाडाबाट दाल आयात गरी प्रशोधन गर्दै बजारमा बिक्री वितरण गर्दै आएको कम्पनीले जनाएको छ ।

कम्पनीले नेपाली बजारमा मसुर दाल, अष्ट्रेलियन चना/दाल, मास दाल, हरियो मुङ दाल, रहर दाल, हरियो केराउ, सेतो केराउ, पपकोर्न र राज्मालगायत अन्य विभिन्न प्रकारका दालको व्यापार गर्दै आएको छ ।

साथै, कम्पनी पशुपन्छीको दाना पनि बिक्री वितरणमा संलग्न छ । कम्पनीले गाईवस्तुको दाना जस्तै, चुन्नी, टिवार कनिका आदिको व्यापार गर्दै आएको छ । कम्पनीले आम्दानी गरेकोमध्ये ५ प्रतिशत हिस्सा दानाको रहेको छ ।

त्यस्तै, कम्पनीले आम्दानी गरेकोमध्ये ६० प्रतिशतभन्दा बढी हिस्सा दालको छ । जसमा रहर दाल, मास दाल, मसुर दाल, चना दाल, मुगु दाल र मटर दालबाट उच्च आम्दानी हुने जनाएको छ । कम्पनीको काठमाडौं र झापा गरी दुईवटा डिपो रहेको छ ।

सञ्जयकुमार मिन्डा अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९९ करोड ३३ लाख रुपैयाँको रेटिङ गराएको छ ।

जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि १ करोड ८३ लाख रुपैयाँ अर्थात् ट्रिपल बी माइनस र अल्पकालीन कर्जाका लागि ९७ करोड ५० लाख रुपैयाँ अर्थात् एथ्रीको रेटिङ पाएको छ ।


क्लिकमान्डु