धितोपत्र ब्रोकर, मिडिया हाउस, पठाओदेखि हाइड्रोपावरसम्म १७८ कम्पनीले तिरेनन् कर (सूचीसहित)



काठमाडौं । आन्तरिक राजस्व कार्यालय पुतलीसडकले मूल्य अभिवृद्धि कर र आयकर नबुझाउने १७८ कम्पनी तथा फर्मलाई १५ दिनमा कर रकम दाखिला गर्न भनेको छ ।

राजस्व कार्यालय पुतलीसडकले ५ लाखभन्दा बढी रकम बक्यौता भएका करदातालाई १५ दिनभित्र कर तिर्न र कर तिर्न नपर्ने भएर प्रमाण पेस गर्न अनुरोध गरेको हो ।

मूल्य अभिवृद्धि कर नतिर्ने १४१ र आयकर नतिर्ने ३७ कम्पनी तथा फर्मलाई विभिन्न मितिमा टेलिफोन, पत्राचार गर्दासमेत कर नतिरेको भन्दै कार्यालयले १५ दिनको समय दिएर सूचना निकालेको हो ।

कर नतिर्नेमा सञ्चार माध्यम, ब्रोकर कम्पनी, हाइड्रोपावर कम्पनी, पठाओ नेपाल, विभिन्न होटल तथा रेष्टुरेन्ट रहेका छन् ।

१७८ कम्पनी तथा फर्मले १५ दिनभित्र कर चुक्ता नगरे मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २१(१) तथा आयकर ऐन २०५८ मा उल्लिखित भएको बैंक खाता रोक्ने, सम्पत्ति रोक्ने तथा लिलामी गरेर बक्यौता कर असुल गरिने कार्यालयले जनाएको छ ।

मूल्य अभिवृद्धि कर नबुझाएकामा सृजना इन्टरनेशनल मिडिया प्रालि (बोधराज त्रिपाठी) सौर्य दैनिकको ७१ लाख ५८ हजार ४८० रुपैयाँ, नयाँ प्रेस प्रालि (नयाँ पत्रिका) का कृष्णप्रसाद देवकोटाले ६७ लाख २३ हजार २९० रुपैयाँ, प्राइमअटो टेक नेपालका करण वैद्यले ७० लाख ७३ हजार ६७४ रुपैयाँ, स्पार्क इन्साइट एडभरटाईजिङ एण्ड मार्केटिङका निर्मल रायमाझीले २५ लाख ५५ हजार १३५ रुपैयाँ, बिजमाण्डू प्रालिका ओम थापाले २२ लाख ८३ हजार २१७ रुपैयाँ, नेत्रबहादुर कार्कीको एन के मेडिया हाउसले १९ लाख ८९ हजार २०३ रुपैयाँ, दिनेश महर्जनको राईज एडभरटाइजिङले १९ लाख ९० हजार ३९ रुपैयाँ रहेको छ ।

यस्तै ज्ञानबहादुर लामाको ज्ञानकुञ्ज निर्माण सेवाले १४ लाख ४४ हजार ६७३ रुपैयाँ, दिपक बोहराको एचडिएसडी एसोसिएट्स चार्टर्ड एकाउन्टेन्टसले १३ लाख ९० हजार ५६५ रुपैयाँ, रेखा कुमारी गुप्ताको डेकोर स्टुडियोले १२ लाख २८ हजार ७६३ रुपैयाँ, श्रवक कुमार चौधरीको मल्टि भिजन एडभरटाइजिङ सर्भिसले ९ लाख ९७ हजार ५८४ रुपैयाँ, प्रमोद कुमार श्रेष्ठको इन्जो मिडिया सर्भिसेजले ९ लाख ८६ हजार ७३१ रुपैयाँ, गौरव अग्रवालको स्काई लाउन्जले ८ लाख ८९ हजार २५० रुपैयाँ, अभिम डंगोलको साउथ एशियन बीमा सर्भेयर एण्ड कन्सल्टेन्ट्सले ८७ लाख ७० हजार रुपैयाँ मूअक बुझाएका छैनन् ।

यस्तै रंजितराज आचार्यको निलबाराही फिल्मसले ८ लाख ४२ हजार ९७० रुपैयाँ, प्रेम बेगाको ब्रिटिश गोर्खा मिडिया नेटवर्कले ८ लाख ४० हजार १५२ रुपैयाँ, शिव बहादुर घर्तीक्षेत्रीको गणपति सेक्युरिटी सर्भिसले ६ लाख २२ हजार ५०३ रुपैयाँ, स्वयम्भु प्रसाद वाग्लेको गोल्डेनगेट इन्टरनेशनल एजुकेशनले ७ लाख ९८ हजार ४०२ रुपैयाँ, गुन्जमान भट्टराईको अनुरक्ति एडभरटाइजिङ एण्ड मल्टिप्रपोजले ७ लाख ८२ हजार ९२७ रुपैयाँ, रुद्र बहादुर श्रेष्ठको सेभेनस्टार बडीगार्ड एण्ड बन्सर सप्लायर्सले ७ लाख ७८ हजार ९३३ रुपैयाँ, सोमप्रसाद मैनालीको सिनेमार्क मुभिजले ८ लाख ५८ हजार ८०९ रुपैयाँ, पूर्ण जिसीको एबिसि मिडिया ग्रुपले ५ लाख ८७ हजार १७३ रुपैयाँ मूल्य अभिवृद्धि कर नतिरेको भन्दै कार्यालयले सूचना प्रकाशन गरेको छ।

आन्तरिक राजस्व कार्यालय पुतलीसडकका अनुसार दिपक बोहराको इन्फिनिटी होल्डिङ्सले २९ लाख ४९ हजार ३१५ रुपैयाँ, टंक प्रसाद गौतमको त्रिशक्ती सेक्युरिटीले १ करोड ३० लाख २६ हजार ९९६ रुपैयाँ, सुरेशमान श्रेष्ठको मेरीगोल्ड ज्वेलर्सले १४ लाख १३ हजार, क्लब सांग्रिलाले ८७ लाख ८६ हजार, पठाओ नेपालले ७२ लाख ५२ हजार ९७३ रुपैयाँ, बिओके क्यापिटलले ३३ लाख ६७ हजार ९०६ रुपैयाँ, अपी पावर कम्पनीले ८९ लाख ९२ हजार ३७४ रुपैयाँ आयकर तिरेका छैनन् ।


क्लिकमान्डु