नेपालमा उन्मुक्ति दिइएका एयर इन्डियाका पाइलटलाई कारबाही गर्न भारतमा पत्राचार गर्ने तयारी



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्स र एयर इन्डियाको विमान सिमराको आकाशमा झण्डै ठोक्किने अवस्थामा पुगेको घटनामा एयर इन्डियाका पाइलटलाई कारबाही गर्न भारतको नागरिक उड्डयन महानिर्देशनालयलाई पत्राचार गर्ने तयारी गरेको छ ।

१९ हजार फिटमा उडिरहेको एयर इन्डियाको विमान एक्कासी १५ हजार फिटमा किन झर्यो भन्ने विषयमा अध्ययन गर्दै चालक दलको सदस्यको गल्ती देखिए कारबाही गर्न आग्रह गर्दै पत्राचार गर्ने तयारी गरेको प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।

गत शुक्रबार विहान साढे ८ बजे सिमराको आकाशमाथि नेपाल वायुसेवा निगमको विमान १५ हजार फिट उचाइमा उडिरहेको थियो । त्यतिनै बेला दिल्लीबाट काठमाडौंका लागि उडान भरेको एयर इन्डियाको विमानले मलेसियाको क्वालालम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ आइरहेको निगमको जहाजलाई झण्डै ठक्कर दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अप्रोच कन्ट्रोल टावरमा कार्यरत एटीसीले १९ हजार फिटको उचाइमा उडान भरिरहेको एयर इन्डियाको विमान एक्कासी १५ हजार फिटको उचाइमा झरेको थियो ।

उक्त घटना हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अप्रोप कन्ट्रोल टावरमा कार्यरत तीन एटीसीलाई प्राधिकरणले शनिबार सक्रिय जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।

एयर इन्डिया फरक भर्टिकल उचाइबाट एक्कासी तल झरेर नेपाल एयरलाइन्सको जहाजले उडान भरिरहेको समान ‘होरिजेन्टल’ उचाइमा पुग्यो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अप्रोच कन्ट्रोल टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले एयर इन्डियाको विमानलाई भारतबाट नेपाल प्रवेश गर्दा १९ हजार फिटको उचाइमा आउन अनुमति दिएको दाबी गरेका छन् । तर, एयर इन्डियाको विमान एक्कासी १५ हजार फिटको उचाइमा झर्‍यो । सोही उचाइमा नेपाल वायुसेवा निगमको विमानले अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि समय कुरिरहेको थियो ।

‘दुवै विमान समान उचाइमा उड्न थाले । नेपाल एयरलाइन्सको विमान ८ माइल (१२.८ किमि) अगाडि थियो । विमानको चेतावनी प्रणालीले जहाज ठोक्किन सक्ने सूचना सम्प्रेषण गरेपछि नेपाल वायुसेवा निगमको विमान तल झर्‍यो र एयर इन्डियाको विमान माथि गयो । जसले गर्दा करिब ३ सय ५० यात्रुको ज्यान बच्यो’ विमानस्थलका एक एटीसीले भने, ‘एयर इन्डियाको विमान १९ हजार फिटमा नउडेर किन १५ हजार फिटमा झर्‍यो भन्ने विषयमा अनुसन्धानबाटै खुल्छ ।’

महानिर्देशकको लापरवाही

नेपाली आकाशमा उडानसम्बन्धी नियम पालन नगर्ने पाइलटलाई प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले कारबाही नगर्दै उन्मुक्ति दिएका छन् ।

शुक्रबार एयर इन्डियाको पाइलटले गम्भीर त्रुटी गरे पनि प्राधिकरणले उनलाई कारबाही गर्दै उडानका लागि रोक लागाउनु पर्नेमा नियमित उडान‍ भर्दै नयाँ दिल्ली फर्किन दिएको थियो ।

शुक्रबार बेलुका क्लिकमाण्डुले समाचार प्रकाशन गरेपछि शनिबार एयर ट्राफिक कन्ट्रोलरलाई सक्रिय जिम्मेवारी नदिन निर्णय गरेका महानिर्देशक अधिकारीले आइतबारमात्रै भारतीय पाइलटलाई कारबाहीका लागि पत्राचार गर्ने तयारी गरेका हुन् । जबकी उडानसम्बन्धी नियमको गम्भीर उल्लंघन गरेमा पाइलटलाई तत्कालै उडान गर्न रोक लगाउनु पर्ने व्यवस्था नागरिक उड्डयन नियमावलीमा छ ।

प्राधिकरणका महानिर्देशकले नेपाली आकाशमा नियम उल्लंघन गर्ने विदेशी वायुसेवा कम्पनीका पाइलटलाई समेत कारबाही गर्न पाउँछन् ।


क्लिकमान्डु