सिंहदरबारस्थित पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन



काठमाडौं । संसदीय समितिले सिंहदरबारमा रहेको पुरानो संसद भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकले सिंहदरबारमा रहेको पुरानो संसद भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको हो ।

विसं २०१६ सालमा निर्माण भएको सो संसद भवन भूकम्पका कारण क्षतिग्रस्त अवस्थामा रहेको थियो ।

समितिले सो भवनलाई पुनःनिर्माण नगरी पुरानै अवस्थामा राखिराख्न रेट्रोफिट गरेर मर्मत गर्नका लागि शहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति मायाप्रसाद शर्माले बताए ।

त्यस्तै समितिले सिंहदरबारस्थित निर्माणाधिन नयाँ संसद भवन परिसरमा बन्दै गरेको पुस्तकालय भवन निर्माणका क्रममा रहेकाले भवन निर्माणमा नमिलेका कतिपय कुराहरुलाई परिमार्जन गर्न पनि निर्देशन दिइएको छ ।


क्लिकमान्डु