निसान ब्रान्डको गाडी बेच्ने कम्पनीको व्यापार ७२ प्रतिशतले घट्यो



काठमाडौं । नेपाली बजारमा निसान ब्रान्डको सवारी साधन बेच्ने पोयोनियर मोटोकर्प प्रालिको व्यापार ७२ प्रतिशतले घटेको छ ।

तरलता अभावका कारण बजारमा माग नहुँदा कम्पनीको व्यापार गत वर्षको ६ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा ७२ प्रतिशतले घटेको हो ।

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा लगाएको प्रतिबन्धले व्यापारमा उच्च प्रभाव परेको कम्पनीले जनाएको छ । सन् २०२२ मा ५० प्रतिशतले बढेको व्यापारमा आयात प्रतिबन्धले गर्दा आम्दानीमा ठूलो धक्का पुगेको कम्पनीको भनाइ छ ।

सारदा ग्रुपद्वारा सञ्चालित कम्पनीले ७ महिनाको अवधिमा ८९ करोड ६० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । जबकी कम्पनीले सन् २०२२ मा ५ अर्ब ७१ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

त्यस्तै, कम्पनीले सन् २०२१ मा ३ अर्ब ८१ करोड ५० लाख रुपैयाँ, सन् २०२० मा २ अर्ब ५९ करोड ९० लाख रुपैयाँ र सन् २०१९ मा ३ अर्ब २३ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन्दिपकुमार सारदाको पूर्ण स्वामित्वमा रहेको कम्पनीले निसानसँगै ड्याटसन ब्रान्डको सवारी सवारी साधन बिक्री वितरण गर्दै आएको छ । साथै, सवारी साधनका लागि आवश्यक पार्टपूर्जा र सामग्री बिक्री वितरणमा पनि संलग्न छ ।

काठमाडौं र विराटनगरमा दुई वटा आफ्नै शोरुम रहेको कम्पनीको देशभर १० वटा डिलरशिप आउटलेट छ । त्यस्तै, कम्पनीले १ अर्ब ४९ करोड ५० लाख रुपैयाँको अल्पकालीन रेटिङ गराएको छ ।


क्लिकमान्डु