सामुदायिक वनका अध्यक्ष थारुसहित आठजना पक्राउ



बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । घाटगद्दीमा रहेको करिब ५२ लाख रुपैयाँबराबरको सामुदायिक वनको काठ हिनामिना गरेको स्थानीयले उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

जिल्ला वन कार्यालयका सहायक वन अधिकृत गणेश खड्काका अनुसार सयम भवानी सामुदायिक वन उपभोक्ता समितिका सचिव आरती वैश्य, कोषाध्यक्ष मैयासरी थारु, सदस्य कमला केसी, मानबहादुर विक, रामकली थारु, खडगबहादुर ओली र शिवकुमारी थारुलाई वन कार्यालयको हिरासतमा राखिएको छ ।

आठै जनामाथि घाटगद्दीमा राखेको काठ र दाउरा हिनामिना गरेको अभियोगमा मुद्दा चलाइने भएको छ । ‘काठ, दाउरा बेचेको हिसाब पनि छैन । खातामा समेत पैसा देखिँदैन,’ अधिकृत खड्काले भने ।

साल, अस्ना, कर्मा, जामुन, शिरीषलगायत जातका काठका गोलिया बेचबिखन गरेको वन कार्यालयले जनाएको छ । उनीहरुलाई जिल्ला अदालतबाट अनुमति लिएर प्रहरीले पक्राउ गरी वन कार्यालयलाई बुझाइएको हो ।


क्लिकमान्डु