बैंकरलाई राष्ट्र बैंकले भन्यो- खराब कर्जा ५ प्रतिशतमाथि पुग्छ, तयारी अवस्थामा बस्नू



काठमाडौं । बैंकहरुको खराब कर्जा थप बढ्ने भएको छ । नियामक नेपाल राष्ट्र बैंकले कडाइ गरेसँगै खराब कर्जा बढिरहेको खराब कर्जा थप बढ्ने भएको हो ।

राष्ट्र बैंककै अधिकारीहरुले चालु आर्थिक वर्षको अन्त्यसम्ममा समग्र बैंकिङ प्रणालीको खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुग्ने भन्दै उक्त अवस्थाको सामना गर्न तयार रहन बैंकरलाई आग्रह गरिरहेका छन् ।

पछिल्लो समय राष्ट्र बैंकले केही बैंकहरुमा स्थलगत निरीक्षण गरिरहेको छ । राष्ट्र बैंकको सुपरिभिजन टोलीले बैंकहरुलाई संभावित जोखिम व्यवस्थाका लागि छुट्याउने रकम पनि ह्वात्तै बढाइदिएको छ ।

‘यो पटकको सुपरिभिजनमा राष्ट्र बैंक निकै कडारुपमा प्रस्तुत भएको छ,’ एक बैंकरले क्लिकमाण्डूसँग भने, ‘ड्याङ ड्याङ प्रोभिजन थपिदिएको छ । र, असार मसान्तसम्म पुग्दा बैंकिङ प्रणालीको खराब कर्जा कुल कर्जाको ५ प्रतिशत नाघ्ने भन्दै त्यसका सामना गर्न तयारी थाल्नु भन्ने निर्देशन पनि दिइरहेको छ ।’

२०७८ को माघमा कुल कर्जाको १.३१ प्रतिशत रहेको खराब कर्जा ०७९ माघमा आइपुग्दा बढेर २.६३ प्रतिशत पुगेको छ । राष्ट्र बैंकका अनुसार २०७९ माघमा वाणिज्य बैंकहरुको २.४९ प्रतिशत, विकास बैंकहरुको २.८२ प्रतिशत र फाइनान्स कम्पनीहरुको ७.८२ प्रतिशत खराब कर्जा रहेको छ । जबकी, ०७८ माघमा वाणिज्य बैंकहरुको १.१८ प्रतिशत, विकास बैंकहरुको १.४२ प्रतिशत र फाइनान्स कम्पनीहरुको ७.०५ प्रतिशत खराब कर्जा रहेको थियो ।

‘यो वर्ष बैंकका लागि कर्जा असूली सबैभन्दा ठूलो चुनौति बनेको छ,’ बैंकरहरु भन्छन्, ‘अवस्था सुध्रिएन भने अहिलेसम्म नियमितरुपमा किस्ता तिरिरहेका व्यवसायीहरुले पनि आगामी महिनामा नतिर्ने अवस्था आउन सक्छ । यदि त्यस्तो अवस्था आयो भने स्थिति भयावय हुन्छ ।’

अन्तराष्ट्रिय मुद्रा कोष लगायतका अन्तराष्ट्रिय संस्थाहरुले लामो समयदेखि नेपाली बैंकहरुको खराब कर्जा विश्वसनीय नरहेको टिप्पणी गर्दै आएको थियो । कोरोना महामारीका समयमा विकसित देशहरुमा समेत १० १२ प्रतिशत खराब कर्जा पुग्दा नेपालमा भने अत्यन्तै न्यून रहेको थियो । राष्ट्र बैंकको असक्षमताका कारण नेपाली बैंकहरुले कर्जाको इभरग्रिनिङ गरेका कारण खराब कर्जा कम भएको आइएमएफको दाबी छ ।

कोरोना महामारीको सयममा नेपालका बैंकहरुले आक्रामकरुपमा कर्जा विस्तार गरेका थिए । राष्ट्र बैंकले २० प्रतिशतको कर्जा विस्तारको लक्ष्य लिएको वर्ष पनि बैंकहरुले २७ प्रतिशतले कर्जा विस्तार गरेका थिए । एकातिर अत्याधिक कर्जा बढेका कारण वितेका वर्षहरुमा खराब कर्जाको मात्रा निकै कम देखिएको थियो । तर, चालु आर्थिक वर्षमा बैंकहरुको कर्जा विस्तार निकै सुस्त छ ।

राष्ट्र बैंकले १२.५ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य लिएको भए पनि फागुन मसान्तसम्ममा बैंकहरुको कर्जा विस्तार २.२ प्रतिशतले मात्रै बढेको छ । आर्थिक वर्ष सकिन अब ४ महिना मात्रै बाँकी छ । अहिले बैंकहरुसँग २५० अर्ब रुपैयाँको हाराहारीमा लगानी योग्य पुँजी (तरलता) छ । र, बैशाखखदेखि ब्याजदर पनि केही घट्ने देखिन्छ । जसअनुसार अब बैंकहरुले थप केही कर्जा विस्ता गर्ने देखिन्छ । असार मसान्तसम्ममा बढीमा ६ ७ प्रतिशतले मात्रै कर्जा विस्तार हुने देखिन्छ ।

‘कर्जा बढेको भए खराब कर्जाको हिस्सा केही कम देखिने थियो,’ ती बैंकरले भने, ‘कर्जा नबढेका कारण पनि यो वर्ष खराब कर्जा बढ्ने भएको छ ।’

त्यतिमात्रै होइन, एकातिर राष्ट्र बैंकले कडाइ गरेर प्रोभिजन बढाएको छ भने अर्कातिर व्यवसायीहरु बैंक ऋणको साँवा ब्याजको किस्ता तिर्न नसक्ने भन्दै सकड आन्दोलनमा छन् ।

‘यो वर्ष बैंकका लागि कर्जा असूली सबैभन्दा ठूलो चुनौति बनेको छ,’ बैंकरहरु भन्छन्, ‘अवस्था सुध्रिएन भने अहिलेसम्म नियमितरुपमा किस्ता तिरिरहेका व्यवसायीहरुले पनि आगामी महिनामा नतिर्ने अवस्था आउन सक्छ । यदि त्यस्तो अवस्था आयो भने स्थिति भयावय हुन्छ ।’

यो वर्ष खराब कर्जाको वास्तविक चित्र आउने भएपछि त्यसले बजारमा नकरात्मक सन्देश जाने भन्दै बैंकरहरु डराएका छन् ।

‘बैंक भनेको विश्वासमा चल्ने संस्था हो, एकातिर सडक आन्दोलन गरिरहेका अराजक व्यवसायीहरुका कारण जनमानसमा बैंकप्रतिको नकरात्मक धारणा बनिरहेको छ, यता खराब कर्जा बढ्ने हो भने त्यसले अर्को नकरात्मक सन्देश जान्छ, त्यसले कठिन बनाउने अनुमान गर्न सकिन्छ,’ ती बैंकरले भने ।


क्लिकमान्डु