दलितहरुले सयौँ वर्षसम्म सम्झिनेगरी केही घोषणा गर्दैछुः प्रधानमन्त्री दाहाल



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकालमा दलित समुदायका लागि विशेष कार्यक्रम घोषणा हुने बताएका छन् । मंगलबार ५८औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस (२१ मार्च)का सन्दर्भमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफ्नो कार्यकालमा दलित समुदायका लागि विशेष कार्यक्रम घोषणा हुने बताएका हुन् ।

‘यो कार्यकालमा दलित समुदायले सयौँ वर्षसम्म सम्झनेगरी केही कार्यक्रम घोषणा गर्दैछु,’ उनले भने । दलित समुदायका माग र मुद्दा सम्बोधन अहिलेको परिस्थितिमा आफूले बाहेक कसैले गर्न नसक्ने उनको भनाइ छ ।

‘अहिले भर्खरै परशुरामजीले २० सूत्रीय माग भनेर जे राख्नुभएको छ, मलाई लाग्छ, नेपालको आजको मितिमा, म सधैँ भन्दिनँ, आजको दिनमा मैले गर्न सके त्यो अगाडि जान्छ । अरुले गर्ने स्थिति मैले देखेको छैन,’ उनले भने, ‘त्यसकारण म तपाईंहरुका अगाडि आजको यो ऐतिहासिक दिनमा के घोषणा गर्न चाहान्छु भने मेरो यो कार्यकालमा दलितहरुले भविष्यसम्म, सयौँ वर्षसम्म सम्झिनेगरी केही घोषणा म गर्दैछु । म गर्नेछु ।’

प्रधानमन्त्री दाहालले दलित समुदायको हक र अधिकारको निम्ति सिंगो राज्य र राज्यका निकाय जिम्मेवारपूर्ण हुनुपर्नेमा सरकार स्पष्ट रहेको बताए । दलित समुदायको विकास र उन्नतिका लागि राज्यले क्षतिपूर्तिसहितको विशेषाधिकार दिनुपर्ने स्पष्ट पारे ।

सकारात्मक विभेदको प्रक्रियाबाट मात्रै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक समानताको आधारशीला खडा गर्न सकिने उनको भनाइ छ । यसका निम्ति आवश्यक भुमिका खेल्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताए ।

दलित समुदायले आज पाएका संवैधानिक र कानुनी हक, अधिकारहरु पनि जनयुद्धको उपलब्धिको रुपमा आएको उनको तर्क छ ।


क्लिकमान्डु