किन बढ्दैछ मुद्दती निक्षेपमा पैसा राख्ने क्रम ?



काठमाडौं । निक्षेपकर्ताले आफूसँग भएको मुद्दती निक्षेपमा धामधम राख्न थालेका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकको साधारण बचतमा भन्दा मुद्दती निक्षेपमा पैसा राख्नेको संख्या बढ्दो छ ।

गत आर्थिक वर्षको सात महिनाको तुलनामा चालू आवको सोही अवधिमा साधारण बचतमा राख्ने पैसाको अंश १४.०२ प्रतिशत बिन्दुले घटेको छ । गत माघ मसान्तमा ३०.१ प्रतिशत रहेको बचत चालू आवको सोही अवधिमा २५.८ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

समीक्षा अवधिमा मुद्दती निक्षेपमा थपिएको अंश भने ९.८७ प्रतिशत बिन्दुले बढेको छ । मुद्दती निक्षेपको अंश गत आर्थिक वर्षको माघ मसान्तसम्म ५४.७ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा ६०.१ प्रतिशत पुगेको छ ।

असार मसान्तमा २७.६ प्रतिशत हिस्सा रहेको साधारण बचत माघ मसान्तसम्ममा ४.६६ प्रतिशतले घटेर २५.८ प्रतिशत छ । यस्तै असार मसान्तमा ५५.८ प्रतिशत रहेको मुद्दती निक्षेप ७.७ प्रतिशत बिन्दुले बढेर ६०.१ प्रतिशत पुगेको छ ।

माघसम्म बैंकहरुले बढाएको ब्याजदरको प्रभाव मुद्दती निक्षेपमा देखिएको हो । बचतमा भन्दा बढी ब्याज मुद्दती निक्षेपमा पाइन्छ । हाल बचत र मुद्दती निक्षेपबीच ब्याजदर अन्तर ५ प्रतिशत छ ।

बैंकिङ प्रणालीमा निक्षेप अभाव भएपछि बैंकहरुले ब्याज बढाएका थिए । ब्याज बढेपछि निक्षेपकर्ताको ध्यान त्यसतर्फ गयो । बढी ब्याजको आशामा निक्षेपकर्ताले आफूसँग भएको पैसा मुद्दती निक्षेपमा राखेका हुन् ।

बैंकहरुले ३ महिना, ६ महिना, १ वर्ष वा सोभन्दा बढी अवधिका लागि मुद्दती निक्षेपमा पैसा लिने गरेका छन् । तर, ब्याजदर भने उस्तै-उस्तै हुने गरेको छ । ब्याजदर तल-माथि भइरहँदा निक्षेपकर्ताले लामो समयभन्दा पनि छोटो-छोटो अवधिका लागि पैसा राख्न थालेको बैंकरहरु बताउँछन् ।

अहिले बैंकहरुले मुद्दती निक्षेपमा पैसा राख्दा ११ प्रतिशतसम्म ब्याज दिने गरेका छन् । रेमिट्यान्स खातामा भने १२ प्रतिशतसम्म ब्याज दिने गरिएको छ ।

प्रविधिले ल्याएको सहजताका कारण अहिले मुद्दती निक्षेपमा पैसा राख्न बैंकमा पनि पुग्नु पर्दैन । कतिपय बैंकले मोबाइल एपबाट पनि आफूसँग भएको पैसा मुद्दतीमा राख्न सक्ने व्यवस्था गरेका छन् ।

यसले पनि सानो-सानो रकमलाई छोटो समयका लागि मुद्दती निक्षेपमा राख्न सहयोग पुगेको छ । केन्द्रीय बैँकका अनुसार माघ मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ३६ हजार ५२४ छ ।


क्लिकमान्डु