वाणिज्य बैंकमा ४ दिनमै १० अर्ब घट्यो निक्षेप



काठमाडौं । उद्योगी व्यवसायीको ब्याजदरविरोधी प्रदर्शन चलिरहेका बेला वाणिज्य बैंकको कर्जा र निक्षेप दुवै घटेको छ । वाणिज्य बैंकहरुको निक्षेप ४ दिनमा १० अर्ब र कर्जा ४ अर्बले घटेको हो ।

मंगलबारसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४७ खर्ब ७३ अर्ब रहेकोमा शनिबार ४७ खर्ब ६३ अर्ब रुपैयाँमा झरेको छ । त्यस्तै वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि ४ दिनमा घटेर ४२ खर्ब ७५ अर्बबाट ४२ खर्ब ७१ अर्ब रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा कुल निक्षेप ५४ खर्ब १३ अर्बबाट ५४ खर्ब ४ अर्बमा झरेको छ भने कुल कर्जा प्रवाह ४८ खर्ब १७ अर्बबाट ४८ खर्ब १३ अर्ब रुपैयाँमा झरेको छ ।

कर्जा-निक्षेप (सीडी) अनुपात यो अवधिमा सामान्य बढेको छ । मंगलबार ८५.६ प्रतिशत रहेको कर्जा-निक्षेप अनुपात शनिबार ८५.७१ प्रतिशत भएको छ । कर्जा प्रवाहको अनुपातमा निक्षेप धेरै घटेपछि सीडी सामान्य बढेको देखिएको हो ।

एक साताभित्र ब्याजदर घटाउने प्रधानमन्त्रीको आश्वासनपछि फागुन ३० देखि उद्योगी-व्यवसायीले आन्दोलन स्थगन गरेका छन् ।


क्लिकमान्डु