यूएईको एमजीएक्स एआई कम्पनीहरूको वित्तपोषणका लागि उठायो ४९ अर्ब डलर


एजेन्सी । अबु धाबीको सार्वभौम सञ्चिति कोष एमजीएक्सले कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनीहरूलाई सहयोग गर्न ४९ अर्ब डलरको कोष खडा गरेको बुधबार घोषणा गरेको छ । यो यस क्षेत्रमा केन्द्रित विश्वकै सबैभन्दा ठूला लगानी कोषहरूमध्ये एक बनेको छ ।

विभिन्न उद्यमहरूमा यस प्रविधिको परिवर्तनकारी सम्भावनालाई लिएर लगानीकर्ताहरूले ठूलो आशा राखेका छन् र एआई कम्पनीहरूमा लगानी गर्न अहिले विश्वभर प्रतिस्पर्धा नै चलिरहेको छ । डिलरुमको तथ्यांक अनुसार, एआई कम्पनीहरूले यस वर्ष अहिलेसम्म रेकर्ड ४१६.६ अर्ब डलर पुँजी संकलन गरिसकेका छन् । यो सन् २०२५ मा संकलन गरिएको कुल रकमको तुलनामा झण्डै दोब्बर हो ।

विशेषगरी एन्थ्रोपिक र ओपनएआईले सन् २०२६ मा संकलित पुँजीको ठूलो हिस्सा ओगटेका छन् र यी दुवै कम्पनीमा एमजीएक्स महत्त्वपूर्ण लगानीकर्ताको रूपमा रहेको छ । यस अमिराती कोषले फेब्रुअरीमा एन्थ्रोपिकको ३० अर्ब डलरको पुँजी संकलनमा सह–नेतृत्व गरेको थियो भने मे महिनामा कम्पनीको ६५ अर्ब डलरको सिरिज एच चरणमा पनि सहभागिता जनाएको थियो ।

एमजीएक्सले मार्चमा ओपनएआईको १२२ अर्ब डलरको पुँजी संकलनमा पनि सह–नेतृत्व गरेको थियो । त्यस्तै, स्पेसएक्ससँग गाभिनुअघि जनवरीमा इलोन मस्कको कम्पनी एक्सएआईले संकलन गरेको २० अर्ब डलरको लगानीमा पनि यो कोष सहभागी भएको थियो ।

यस कोषले अहिलेसम्म १४ वटा कम्पनीहरूलाई आर्थिक सहयोग गरिसकेको छ र यसले सेमिकन्डक्टर, एआई पूर्वाधार, र एआई–सक्षम प्रविधि तथा प्लेटफर्महरू लगायत सम्पूर्ण एआई प्रविधि प्रणालीमा लगानी गर्ने लक्ष्य राखेको छ ।

खाडी क्षेत्र, उत्तर अमेरिका, एसिया र युरोपका संस्थागत तथा निजी लगानीकर्ताहरूबाट यो पुँजी जुटाइएको हो । यो कोष आफ्नो सुरुवाती ४५ अर्ब डलरको लक्ष्यभन्दा पनि माथि पुगेर बन्द भएको छ ।

एमजीएक्सले एआईका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरूमा पनि निरन्तर लगानी गरिरहेको छ । जुन महिनामा मात्रै कम्पनीले बीपीआईफ्रान्स र मिस्ट्रलसँगको साझेदारीमा फ्रान्समा एउटा एआई क्याम्पस विस्तार गर्ने योजना सार्वजनिक गरेको थियो ।