अमेरिकाको नाकाबन्दी हटेपछि इरानले निर्यात गर्यो ४ करोड ब्यारल कच्चा तेल


एजेन्सी । अमेरिकाले इरानी बन्दरगाहहरूमाथिको जलसैनिक नाकाबन्दी हटाएयता इरानले ४ करोड ब्यारल भन्दा बढी कच्चा तेल निर्यात गरेको छ । उसले अहिले युद्धपूर्वको तुलनामा झण्डै २० प्रतिशत बढी मूल्यमा तेल बेचिरहेको इरानी संसद्का सभामुख तथा मुख्य वार्ताकार मोहम्मद बागेर गालिबाफले मंगलबार बताएका छन् ।

झण्डै चार महिना लामो युद्ध अन्त्य गर्न र हर्मुज जलयोजक पुनः खोल्नका लागि अमेरिका र इरानले जुन १७ मा एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । स्थायी शान्ति सम्झौताका लागि ६० दिनको वार्ता पनि उनीहरूले तय गरेका छन् ।

इरानले दुईवटा पारवहन जहाजहरूमा आक्रमण गरेपछि गत सप्ताहान्तमा दुई पक्षबीच छोटो समयका लागि दोहोरो प्रहार भएको थियो । युद्धविरामले उक्त महत्त्वपूर्ण जलमार्गबाट कच्चा तेलको ढुवानीमा वृद्धि ल्याएको छ जहाँ द्वन्द्वका क्रममा यातायात ठप्प भएको थियो जसका कारण तेलको मूल्यमा भारी गिरावट आएको छ ।

‘जलसैनिक नाकाबन्दी हटाइएको दिनदेखि हामीले ४ करोड ब्यारल भन्दा बढी तेल निर्यात गरेका छौं,’ गालिबाफले आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित एक टेलिभिजन अन्तर्वार्तामा भने । सम्झौता हुनुअघिको करिब दुई महिनाको नाकाबन्दीको अवधिमा इरानले एक ब्यारल तेल पनि निर्यात गर्न नसकेको उनले थपे ।

ट्यांकर ट्य्राकिङ गर्ने कम्पनी ट्यांकरट्य्राकर्स डट्कमले बुधबार बताएअनुसार, अमेरिकाले दुई हप्ताअघि इरानको ऊर्जा निर्यातमाथिको जलसैनिक नाकाबन्दी हटाएदेखि इरानले ५ करोड ब्यारल कच्चा तेल निर्यात गरेको अनुमान छ । उक्त कम्पनीले जहाजहरूको आवतजावत अनुगमन गर्न भूउपग्रह तस्वीर, किनारको फोटोग्राफी र रियल–टाइम स्वचालित पहिचान प्रणालीको प्रयोग गर्छ ।

कूटनीतिक प्रगति र खाडीको आपूर्तिमा सुधार आउने अपेक्षाले मूल्यमा दबाब पारेका कारण बुधबार ब्रेन्ट कच्चा तेल प्रति ब्यारल ७३ डलरको हाराहारीमा कारोबार भयो । त्यो अप्रिलमा युद्धको उच्च विन्दुको तुलनामा झण्डै ४० प्रतिशतले कम हो ।

युरेसिया ग्रुपका वरिष्ठ विश्लेषक ग्रेगोरी ब्रुअका अनुसार, युद्धअघि प्रतिबन्धको जोखिमको क्षतिपूर्तिका लागि इरानी कच्चा तेल ब्रेन्ट भन्दा प्रति ब्यारल १० देखि १५ डलर सस्तोमा बिक्री हुन्थ्यो ।समझदारी पत्रअनुसार इरान ६० दिनसम्म हर्मुज

जलयोजकबाट जहाजहरूलाई निःशुल्क पार गर्न दिन सहमत भएको छ तर उक्त जलमार्गको प्रशासनमा भने आफ्नो नियन्त्रण कायमै रहने कुरामा जोड दिएको छ ।

‘हर्मुज जलयोजकको सार्वभौमसत्ता इरान र ओमानसँग निहित छ र जलयोजकमा हुने यातायात इरानद्वारा निर्धारित व्यवस्थाको अधीनमा छ,’ गालिबाफले भने, ‘इरानले कुनै पनि हालतमा हर्मुज जलयोजकमा आफ्नो अधिकार छाड्ने छैन र यी हाम्रा क्षेत्रीय जलक्षेत्र हुन् ।’

६० दिनको अवधि समाप्त भएपछि उक्त जलयोजकलाई कसरी सञ्चालन गरिनेछ भन्ने कुरा अझै स्पष्ट छैन । जहाजहरूले ओमानको तटसँगै रहेको दक्षिणी करिडोर वा उत्तरतर्फ इरान–नियन्त्रित लेनहरू मार्फत हर्मुज जलयोजक पार गरेका छन् ।

फुकुवा गरिएका इरानी सम्पत्तिहरू अमेरिकी कृषि सामग्री खरिद गर्न प्रयोग गरिनेछ भन्ने राष्ट्रपति डोनल्ड ट्रम्पको दाबीलाई पनि गालिबाफले अस्वीकार गरे र विदेशमा रोक्का रहेको करिब २४ अर्ब डलरमध्ये १२ अर्ब डलर देशको केन्द्रीय बैंकमा विश्वको जुनसुकै मुद्रामा र जुनसुकै मूल्यमा आवश्यक पर्ने जुनसुकै सामग्री खरिद गर्न जाने बताए ।