रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय



काठमाडौँ । महान्यायाधिवक्ता दीनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीका आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए ।

महान्यायाधिवक्ताको उक्त निर्णयपछि पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेविरुद्ध सरकारी निकायले मुद्दा चलाउने छैन । राहदानी दुरुपयोगसम्बन्धी अनुसन्धानको फाइल महान्यायाधिवक्ता कार्यालयमा आइतबार पुगेको थियो ।

नेपाल प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा फाइल पेस भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालयमा मुद्दा नचल्ने निर्णय गर्दै फाइल पठाएको थियो ।

सभापति लामिछानेमाथि नेपाली र अमेरिकी राहदानी रहेको र दुई वटा राहदानी प्रयोग गरेको आरोप लागेको थियो । अमेरिकी राहदानी नबुझाई नेपाली राहदानी प्रयोग गरेको पाइएपछि विवाद भएर अनुसन्धान गरिएको थियो ।

सर्वोच्च अदालतले यसअघि नै लामिछानेले प्रक्रियागत रूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै लामिछाने नेपाली नागरिक नभएको फैसला सुनाएको थियो । उक्त फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो । अहिले जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया पूरा गरी लामिछानेले नेपाली नागरिकता भने लिइसकेका छन् ।


क्लिकमान्डु