नेपाली आकाशमा थपियो नयाँ एयरलाइन्स, पौने १ अर्ब लगानी



काठमाडौं । नेपालमा थप एयरलाइन्स सञ्चालनमा आउने भएको छ । उद्योग विभागमा हालै मात्रै दर्ता भएको शिवम् एयरलाइन्ससँगै नेपालमा एयरलाइन्स कम्पनीको संख्या १० पुग्ने भएको छ ।

नेपाल नागरिक उड्डयान प्राधिकरण (क्यान)अनुसार हालसम्म ९ वटा एयरलाइन्सले सेवा दिँदै आएका छन् । जसमा बुद्ध एयर, गुना एयरलाइन्स, नेपाल एयरलाइन्स कर्पोरेशन, श्री एयरलाइन्स, सिता एयरलाइन्स, समिट एयरलाइन्स, शौर्य एयरलाइन्स, तारा एयरलाइन्स र यति एयरलाइन्स सञ्चालनमा छन् । उद्योग विभागमा हालै मात्र आन्तरिक उडानको सेवा दिने गरी दर्ता भएको शिवम् एयरलाइन्ससँगै नेपालमा एयरलाइन्सको संख्या १० पुग्ने भएको हो ।

विभागको तथ्याङ्कअनुसार गत फागुन ९ गते कुल ४ करोड ९१ लाख ७ हजार रुपैयाँ लगानीमा उद्योग दर्ता भएको छ । दर्ता भएको उद्योगमा शतप्रतिशत स्वदेशी लगानी रहेको छ ।

दर्ता भएको उद्योगले सञ्चालनमा आएपछि ९८ जनाले रोजगारी पाउने प्रतिबद्धता जनाएको छ । ८४ करोड लगानी प्रतिद्धबता जनाएको शिवम् एयरलाइन्सका सञ्चालक भने क्याप्टेन दिनेश आचार्य रहेका छन् । तीन दशक नेपाल र भारतका वायुसेवा कम्पनीको उडान भरिरहेको आचार्यले आफ्नै लगानीमा शिवम् एयरलाइन्स सञ्चालनमा ल्याउने भएका हुन् ।

एयरलाइन्सले सन् २०२२ को मार्चमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उडानको अनुमति दिइसकेको छ । मन्त्रालयबाट अनुमति पाइसकेको एयरलाइन्सले क्यानबाट एनओसी पाउन भने बाँकी छ ।

दर्ता भएको एयरलाइन्सले पोखरादेखि जोमसोम, नेपालगञ्जदेखि सिमिकोट र काठमाडौंदेखि जुम्ला र लुक्लासहित अन्य दुर्गम क्षेत्रमा उडान भर्ने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु