थाइल्यान्डका प्रधानमन्त्रीद्वारा संसद विघटन



एजेन्सी । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चाले संसद् विघटन गरेका छन् । निर्वाचनको घोषणासँगै सन् २०१४ मा प्रयुतले सत्ता सम्हालेपछि थाइल्यान्डमा दोस्रो पटक निर्वाचन हुन लागेको हो ।

संसद विघटन र निर्वाचनको मिति घोषणाको तयारीबारे थाइल्यान्डको राजपत्रमा प्रकाशित सूचनामा सोमबार उल्लेख गरिएको छ । सन् २०१४ को चुनावमा सत्तामा आएका पूर्व सेना प्रमुख प्रयुतले एक दशकको निर्वासनपछि स्वदेशमा फर्किएका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी अर्बपति छोरीविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

पेतोङ्टार्न सिनावात्राको नेतृत्वमा रहेको मुख्य विपक्षी फेउ थाई समूहले निर्वाचनमा सफलता हासिल गर्न कडा मेहनत गरिरहेको छ । तर, थाइल्यान्डको सैनिक प्रशासन (जुन्टा) ले सन् २०१७ मा बनाएको संविधानका कारण पार्टीलाई शीर्ष पद सुरक्षित गर्न कठिन बनाउन सक्ने विश्लेषण भइरहेको छ ।

सन् २०१४ मा भएको ‘कू’ पछि यो दोस्रो निर्वाचन हो भने सन् २०२० मा बैंककमा युवाको नेतृत्वमा भएको ‘प्रजातन्त्र पक्षधर’ प्रदर्शनले देशलाई हल्लाएपछिको यो पहिलो निर्वाचन हो । निर्वाचनका लागि हप्तौंदेखि अनौपचारिक अभियान चलिरहेको छ । बढ्दो जीवनयापन खर्च र महामारीबाट प्रभावित राज्यको सुस्त पुनः उत्थान दुबै थरीका चुनावी एजेन्डाका रूपमा देखिएका छन् ।

सन् २०१९ को विवादास्पद चुनावमा आफ्नो शासनलाई मजबुत बनाएका ६८ वर्षीय प्रयुत थाई राजनीतिमा विरलै देखिने लामो कार्यकाल सम्हाल्न सफल भएका छन् । आइतबार प्रकाशित एक सर्वेक्षणमा प्रयुत १५ प्रतिशतभन्दा बढी मतका साथ तेस्रो स्थानमा छन् भने ३८ प्रतिशत मत पाएका पेटोङटार्नभन्दा उनी निकै कमजोर देखिएका छन् ।

नेसनल इन्स्टिच्युट अफ डेभलपमेन्ट एडमिनिस्ट्रेसनले दुई हजार मानिसमा गरेको सर्वेक्षणमा करिब ५० प्रतिशतले फेउ थाईलाई मत दिने बताएका थिए भने प्रयुतको युनाइटेड थाई नेसन पार्टीलाई करिब १२ प्रतिशत मत दिने बताएका थिए ।


क्लिकमान्डु