फागुनसम्ममा डेढ खर्ब लगानी प्रतिबद्धता, सबैभन्दा बढी साना उद्योग दर्ता



काठमाडौं । चालू आर्थिक वर्षको फागुनसम्ममा स्वदेशी तथा विदेशी लगानीमा दर्ता भएका उद्योगले डेढ खर्ब रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । साउनदेखि फागुनसम्ममा स्वदेशी र विदेशीले १८३ वटा उद्योग दर्ता गरी १ खर्ब ५५ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

दर्ता भएका उद्योगबाट १२ हजार ७४८ जनाले रोजगारी पाउनेछन् । फागुसम्ममा दर्ता भएका उद्योग अधिकांश साना छन् । देशभर १८३ वटा उद्योग दर्ता भएकोमा ८३ वटा साना, ५३ वटा मध्यम र ४७ वटा ठूला उद्योग छन् ।

विभागको तथ्यांकअनुसार फागुनसम्ममा उत्पादन क्षेत्रका ६९ उद्योग दर्ता भएका छन् । त्यस्तै, ३७ वटा पर्यटन क्षेत्रमा, ३६ वटा ऊर्जा क्षेत्रमा,  ३० वटा सेवा क्षेत्रमा, ६ वटा आईसीटी क्षेत्रमा, ३ वटा कृषि क्षेत्रमा र २ वटा खनिज क्षेत्रका उद्योग दर्ता भएका छन् ।

यस्तै, फागुनमा मात्रै १९ वटा उद्योग दर्ता भई ७ अर्ब ३० करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ । ती उद्योगमा १७ सय ११ जनाले रोजगारी पाउने उद्योग विभागको तथ्यांकले देखाउँछ ।

फागुनमा ९ वटा साना, ७ वटा मध्यम र ३ वटा ठूला उद्योग दर्ता भएका छन् । त्यस्तै उत्पादन क्षेत्रका ९ वटा,  ६ वटा ऊर्जा क्षेत्रका, ३ वटा पर्यटन क्षेत्रका र एउटा सेवा क्षेत्रको उद्योग छ ।

त्यसैगरी, सुरुदेखि हालसम्ममा स्वदेशी तथा विदेशी गरी ८ हजार ९४७ उद्योग विभागमा दर्ता भएका छन् । दर्ता भएका उद्योगबाट २७ खर्ब ८२ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।


क्लिकमान्डु