‘महानगरले पार्किङ हटाउँदा दरबारमार्गमा ६० प्रतिशत व्यापार घट्यो’



काठमाडौं । दरबारमार्ग विकास बोर्डका पूर्वअध्यक्ष गोपालसुन्दरलाल कक्षपतीले काठमाडौं महानगरपालिकाले दरबारमार्गको पार्किङको विकल्प मौखिक रुपमा दिएर नहुने बताएका छन् ।

पूर्वअध्यक्ष कक्षपतीले महानगरले दरबारमार्गको पार्किङको विकल्प छ भनेर मात्रै नहुने भन्दै बोर्डलाई पार्किङका विकल्प विश्वज्योती हल,अन्नपूर्ण होटल र दरबारमलको अण्डर ग्राउण्ड हो भनेर पत्राचार गर्नुपर्ने बताए । उनले महानगरपालिकाले दिएको विकल्प उपयुक्त नभएको तर्क गरे ।

बोर्डसँग महानगरले पार्किङको विकल्प दिए तत्काल समस्याको समाधान हुने उनको भनाइ छ । सञ्चार माध्यममा विकल्प दिएको छ भनेर सुनेको भरमा व्यवसायीहरुले विकल्प नदेखेको उनको भनाइ छ ।

प्रमुख व्यापारिक गन्तव्य दरबारमार्ग सुनसान

संघीय राजधानीको चिरपरिचत र प्रमुख व्यापारिक गन्तव्य दरबारमार्ग अहिले सुनसान बनेको छ । दरबारमार्ग सुनसान हुनु विगत लामो समय अघिदेखि सडकको एक लेनमा सवारी पार्किङ हटाउनु प्रमुख कारण देखिएको छ । भीभीआईपी, भीआईपी’ देखि सर्वसाधारणको केन्द्र हो, दरबारमार्ग । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अहिले जे गरिरहेका छन्, त्यो राम्रैका लागि राम्रै सोचेर गरेको भए पनि पार्किङको विषयमा उनले राम्रोसँग बुझेको जस्तो नलागेको उनले बताए ।

दरबारमल, अन्नपूर्ण होटल लगायतमा पार्किङले दरबामार्गको व्यापारका लागि पर्याप्त नहुने उनको भनाइ छ ।
अहिले दरबारमार्ग क्षेत्रको व्यापार सुस्ताउनुको मुख्य कारण नै पार्किङ भएको उनले दाबी गरे । यसमा महानगरले तत्कालै बुझेर समस्या समाधान गरिदिनुपर्ने उनको भनाइ छ ।

अन्नपूर्ण होटलले स्विमिङ पुल भाडामा दिएर सञ्चालनमा ल्याइसकेको अवस्थामा त्यहाँको पार्किङ बाहिरका लागि सम्भव नभएको उनको भनाइ छ ।

‘यस्तो बेलामा महानगरले वैकल्पिक व्यवस्था देखाएर उम्किन मिल्दैन । अहिले ग्राहकको दरबारमार्गप्रतिको धारणा नै नकरात्मक भइसकेको छ । कसैले दरबारमार्गमा जाउ वा आऊँ भने त्यहाँ पार्किङ छैन भनेर अन्य ठाउँ जाने निधो गर्न थालिसकेका छन् । अर्थात, दरबारमार्ग आउने ग्राहकको गन्तव्य नै परिवर्तन हुन थालेको छ । जसका कारण यहाँको व्यापार–व्यवसाय सुस्ताएको छ’ उनले भने ।

काठमाडौंमा मेयरलाई विश्व ज्योती हल,अन्नपूर्ण होटल र दरबार मलको अण्डरग्राउण्ड पार्किङ गर् भन्ने अधिकार नभएको र यो दीर्घकालीन समस्या समाधानको उपाय नभएको उनको भनाइ छ ।

काठमाडौं महानगरपालिका मेयरले कुनै पनि समस्या नभएको स्थानमा आएर पार्किङ हटाएर समस्या सिर्जना गरेको उनको आरोप छ । दरबारमार्गको सडकमा पाँच वटा लेन रहेको छ । एकातिरबाट आउने दुई र अर्कोतर्फ ३ लेनको सडक रहेको छ । तीन लेन भएको ठाउँमा दुई लेन सवारी साधान गुड्ने र एक लेन पार्किङको लागि दरबारमार्ग विकास बोर्डले १२ वर्ष पहिले नै महानगरपालिकासँग नै बसेर पार्किङको व्यवस्था गरेको उनले जानकारी दिए । पछिल्लो ३० वर्षमा दरबार मार्गको सडकमा ट्राफिकको कुनै समस्या नभएको उनको दाबी छ ।

‘दरबारमार्ग पसलहरु मात्रै होइन । यहाँको आफ्नै इतिहास रहेको छ । दरबार मार्ग १९६१ मा बनेको संरचना हो । दरबारमार्ग सामाजिक केन्द्र हो । दरबार मार्गमा पसलमा सामान खरिद गर्न मात्रै नभएर मनोरञ्जन,पर्यटक गन्तव्य हो र काठमाडौंको राम्रो डाउनटाउन भनेकै दरबार मार्ग हो’ उनले भने, ‘दरबार मार्गलाई सरकारले प्राथमिकता दिनुपर्छ । दरबार मार्ग पसलहरुको केन्द्र मात्रै नभएर एतिहास बोकेको सामाजिक केन्द्र हो ।’

६० प्रतिशत व्यापार घट्यो

दरबारमार्गबाट पार्किङ हटाउँदा ६० प्रतिशतको व्यापार घटेको उनको भनाइ छ । मेयरले शान्त तालमा ढुङ्गा हान्ने काम गर्दा समस्या भएको उनको भनाइ छ । जसका कारण व्यापारमा प्रभाव परेको उनी बताउँछन् ।

‘अहिले दरबार मार्ग जानेहरुले पार्किङ नै छैन भनेर जाने सोच बन्द गरेका छन् । आर्थिक प्रभाव परेको छ । सयौं पसलहरु छ । पार्किङ हटाएदेखि ६० प्रतिशत व्यापार कमी आएको छ’ उनले भने, ‘ दरबार मार्गका व्यवसायीहरुले अब दुई पटक सोच्न बाध्य भएका छन् । व्यवसायीहरुले घरभाडा,कर्मचारीको तलब लगायत दिन समेत समस्या आएको छ । यसले व्यवसायीलाई मार पार्ने मात्रै नभएर सरकारलाई समेत प्रभाव परेको छ । सरकारको राजश्वमा समेत प्रभाव पर्‍यो । महानगरले दरबार मार्गको पार्किङ हटाउँदा कति प्रभाव परेको छ भन्ने कुरा मेयरले थाहा नपाउनु दुःखको कुरा हो ।’


क्लिकमान्डु