सत्र परिवारद्वारा सञ्चालित होमस्टे, जहाँ पर्यटक फर्की‑फर्की आउँछन्



सिन्धुली । पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजंगल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने ।

उत्तरमा ऐतिहासिक स्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर । यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्ग र दायाँबायाँको बस्तीले मोहित बनाउने ढुंग्रेभज्याङ ।

सिन्धुलीको कमलामाई नगरपालिका-२ मा ३० परिवारको बसोबास छ । मगर जातिको बाहुल्य रहेको यस बस्तीमा १२ परिवारले सामूहिक रूपमा घरबास (होमस्टे) सञ्चालन गरेका छन् । जिल्लाकै पहिलो घरबासका रूपमा स्थापित भएको ‘भद्रकाली सामुदायिक होमस्टे’मा प्राकृतिक सौन्दर्य, स्वच्छ हावापानी, स्थानीय प्रांगारिक परिकार, स्थानीयको सरलता, सहयोगीपन, मुस्कानसहितको बोली र व्यवहारले सबैलाई लठ्ठ बनाउँछ ।

वि.सं. २०७६ चैत २९ देखि सुरु भएको उक्त होमस्टे कोभिड-१९ को त्रासका कारण २ वर्ष थलियो । अहिले पुनः पुरानै लयमा फर्किंदै छ । होमस्टेका अध्यक्ष चेतबहादुर थापामगरका अनुसार हालसम्म आन्तरिक र बाह्य गरी दुई सय पर्यटकले यहाँको आतिथ्यता ग्रहण गरिसकेका छन् । एक साँझ बिताउन आएका पर्यटक चार दिनसम्म बसेर जाने गरेका उनले सुनाए ।

जनमैत्री क्यापस भक्तपुरबाट नवराज गुरागाईंको नेतृत्वमा आएको २२ जनाको टोली होमस्टेमा एक साँझ बिताउन चाहन्थ्यो । तर यहाँको आतिथ्यता, वातावरण र प्राकृतिक सौन्दर्यबाट मोहित भएर चार दिन बसेर फर्कियो ।

‘होमस्टेमा आउने पर्यटक स्थानीय अग्र्यानिक परिकार खान रुचाउँछन् । लोकल कुखुरा, ढिडो, कोदोको सेलरोटी, फापरको फुलाउरा, मकै र भटमास, गुन्द्रुकको अचार, दही, दूध रोजाइमा पर्दछ,’ अध्यक्ष थापामगरले भने, ‘एकपटक आएका पाहुना पटक–पटक आउनुहुन्छ ।’

होमस्टेमाथिको सेल्फी डाँडालाई व्यापारिक केन्द्र बनाइएको छ । होमस्टेअन्तर्गतको कार्यक्रमअनुरुप १७ परिवारले जिल्लामा पाइने स्थानीय कृषिजन्य उत्पादन बिक्री गर्छन् । जुनार, जुनारको जुस, सुन्तलतासहित मौसमी फलफूल, तरकारी, चिया, कफी, खाजाका विभिन्न परिकार यहाँ पाइन्छ ।

टाढाको यात्राबाट थाकेर आएका यात्रु होमस्टेमा बस्न पाएनन् भने यही स्थानमा एकछिन रोकिएर जुनार जुस पिउँछन्, खाजा खान्छन्, केहीबेर यात्राको थकान मेट्छन् र पोजपोजका तस्बिर खिचेर पुनः यात्रा तय गर्छन् ।

पर्यटक होमस्टेमै आएर बस्छन् । एकपटकमा ५० जनासम्म अटाउने क्षमता छ । पर्यटकको चाहनाअनुसार बेलुकाको खानापछि यहाँ विशेषगरी मगर जातिको मौलिक नाच हेर्न पाइन्छ । होमस्टेले पर्यटकलाई सस्तो, सुलभ र पारिवारिक वातावरणले सहजतामात्रै थपिदिएको छैन ।

स्थानीयलाई रोजगारी पनि दिएको छ । स्थानीय उत्तमकुमारी आलेमगर अरु व्यवसायभन्दा होमस्टेमा फाइदा देख्छिन् । होमस्टे सञ्चालन तथा व्यवस्थापनसम्बन्धी तालिम तथा अन्य जिल्लाका होमस्टेको अवलोकन भ्रमण गरेकी उनी ढुंग्रेभज्याङबासीको भविष्य होमस्टे व्यवसायले राम्रो बनाउनेमा विश्वस्त छिन् ।

ढुंग्रेभज्याङको विकासमा बीपी राजमार्ग वरदान सावित भएको छ । ३० वर्षअघिसम्म नुनदेखि सुनसम्म किन्न सिन्धुलीमाढी बजार पुग्नुको विकल्प थिएन । ‘राजमार्ग निर्माण अगाडि बढेपछि अन्यत्र ठाउँबाट आएका व्यक्तिले यहाँ किराना पसल चलाएका थिए । लगानी गरेर व्यापार, व्यवसाय गर्ने क्षमता भइनसकेका केही पुरुष वैदेशिक रोजगारीमा हानिए, कोही निर्वाहमुखी खेतीमा खटिए । गृहस्थी महिला घर धानेर बसे,’ आलेमगरले भने ।

राजमार्गमा सवारीसाधनको चाप बढ्न थालेसँगै घर-घरमा पानी, बत्तीको सुविधा थपियो । ठाउँको विकास भएसँगै स्थानीयमा चेतनाको स्तर बढ्यो । आफूले खाएर बचेको स्थानीय कृषिजन्य उत्पादन राजमार्ग छेउमा बसेर बेच्न थालेका छन् ।

तीन वर्षअघि मात्रै पर्यटकीय सम्भावना बोकेको यस बस्तीमा सामूहिक होमस्टे सञ्चालन गरिएको हो । यसका लागि कमलामाई नगरपालिका, कन्दमूल विकास केन्द्र, कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य संघ, सिड्स नेपाल, श्री सिन्धुलीलगायतका संघसंस्थाको साथ र सहयोग रहेको उनले बताए ।

‘सबै परिवार मिलेर सामूहिक होमस्टे सञ्चालनमा ल्याएका हौँ,’ आलेमगरले भने, ‘लगानी गर्नु नपर्ने, आफ्नो गाउँठाउँमा उत्पादन भएको सागसब्जी, फलफूल, लोक कुखुरालगायतका अन्य परिकार, जो परिवारको लागि दैनिक बनाइन्छ । होमस्टेमा आउने अतिथि यसैमा रमाउँछन् । काम खोज्दै भौँतारिनु नपर्ने, अरु व्यापार, व्यवसायभन्दा सजिलो, हरेक दृष्टिकोणले फाइदा र सुरक्षित यसैमा भएकाले हामी उत्साहित छौँ ।’

उनले होमस्टे सञ्चालन तथा व्यवस्थापनसम्बन्धी तालिम लिएका छन् भने विभिन्न जिल्लामा रहेका होमस्टे भ्रमण गरेका छन् । आफ्नो ठाउँमा पनि होमस्टेले आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा टेवा पुग्ने, स्थानीयको जीवनस्तर उकासिने र दैनिक जीवनयापनमा परिर्वतन देखिन थाल्दा उनी खुसी छन् ।

विमला थापामगरले २७ अतिथिको सेवा गरेर ३३ हजार सात सय आम्दानी भएको सुनाइन् । चुलोचौकामै सीमित रहेकी उनी होमस्टेमा सक्रिय भएर लागेपछि घरपरिवारको खर्च आफ्नै कमाइले धान्नसक्ने भएकी छन् ।

चन्द्रकुमारी जर्गामगरलाई पहिलोपटक अतिथि आउँदा अत्यास लागेको थियो । तर अहिले उहाँमा धेरै परिर्वतन आएको छ । तालिम र अभ्यासले उहाँलाई साहसी बनाएको छ । घरदेखि टोलसम्म सरसफाइदेखि अतिथि सत्कार, थरिथरिका परिकार बनाउन सिकाएको छ ।

६ कठ्ठा पाखो बारीमा कोदो, फापर, दलहनको खेती, बाख्रा, कुखुरापालनदेखि जुठेल्नोमा सागसब्जी लगाउन जर्गामगर आफैंले भ्याइरहेकी छन् । ‘यहाँको उत्पादन बिक्री गर्न कतै धाइरहनु पर्दैन । स्थानीयले सजिलै आम्दानी लिन सकिरहेका छन्,’ उहाँले भन्नुभयो ।

होमस्टेमा चार दिन बसेर फर्किएकी भक्तपुरकी शुभेच्छा भट्टराई यहाँको वातावरण, गाउँलेको व्यवहार र प्राकृतिक सुन्दरताले लोभ्याइरहने बताउँछिन् । स्याङ्जाको सिरुबारीबाट २०५४ सालमा सुरु भएको होमस्टे व्यवसाय हाल देशभर फैलिएको छ । होमस्टे महासंघ बागमती प्रदेशका अध्यक्ष गोविन्दप्रसाद हुमागाईँका अनुसार हालसम्म सिन्धुलीसहित ६८ जिल्लामा होमस्टे सञ्चालनमा छन् ।

एक हजार पाँच सय होमस्टे संस्थागत रुपमा दर्ता छन् । देशभर २२ हजार घरमा होमस्टे सञ्चालनमा रहेको उनले बताए । बागमती प्रदेशमा मात्रै एक सय २५ होमस्टे संस्थागत रूपमा दर्ता छन् । यसमध्ये ७५ होमस्टे सामुदायिक र अन्य निजी रूपमा चलेका छन् ।


क्लिकमान्डु