एनएचपीसीले पायो सेती नदी ६ को सर्वेक्षण अनुमति



काठमाडौं । लगानी बोर्ड नेपालले एनएचपीसी लिमिटेडलाई ४५० मेगावाट क्षमताको सेती नदी ६ आयोजनाको सर्वेक्षण अनुमति दिएको छ ।

गत फागुन ४ गते एनएचपीसीले सेती नदी ६ आयोजनाको सर्वेक्षण अनुमति माग गर्दै लगानी बोर्ड नेपालमा निवेदन दिएको थियो।

लगानी बोर्ड र एनएचपीसीबीच गत भदौ २ गते पश्चिम सेती र सेती नदी ६ परियोजना निर्माण सम्बन्धी समझदारी भएको थियो ।

एनएचपीसीले यसअघि नै पश्चिम सेती जलविद्युत परियोजनाको सर्वेक्षण अनुमति लिँदै प्रारम्भिक अध्ययन प्रतिवेदनसमेत बुझाइसकेको छ ।

सेती नदी ६ परियोजनाका विषयमा यसअघि अध्ययन गर्न लागेको विभिन्न लागत बुझाउँदै एनएचपीसीले सर्वेक्षण अनुमति माग गर्दै लगानी बोर्डमा निवेदन दिएको थियो ।

एनएचपीसीले ७५० मेगावाट क्षमताको पश्चिम सेती परियोजनाका विषयमा वृहत अध्ययन गरिरहेको छ । बोर्डले सेती नदी ६ परियोजनाको सर्वेक्षण अनुमति दिएसँगै यस आयोजनाका विषयमा पनि अध्ययन अघि बढाउने भएको छ ।

गत भदौ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा भएको समझदारीपत्रमा दुई वर्षभित्र अध्ययन सम्पन्न गर्दै दुबै परियोजना निर्माण अघि बढाउने उल्लेख छ ।


क्लिकमान्डु