बीस वर्ष पुगेपछि विवाह गरे दश हजार रुपैयाँ पुरस्कार पाइने



कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका– ७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही १० हजार रुपैयाँ
पुरस्कार दिने निर्णय गरेको छ ।

यही चैत १ गतेबाट लागू हुने गरी २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई १० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

बालविवाहका घटना बढ्दै जान थालेकाले त्यसलाई रोकथाम गर्ने उद्देश्यले २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई पुरस्कार दिने निर्णय गरिएको वडाध्यक्ष प्रेमबहादुर शाहीले बताए ।

उनले वडाका कसैले विवाह गरेमा वडा कार्यालयको सिफारिस लिनुपर्ने भन्दै बालविवाह रोक्न यस्तो नीति लिइएको बताए ।

वडाका कुनै पनि महिला र पुरुषले अन्य कुनै वडा वा जिल्लाबाट विवाह गर्नुपरेमा उमेर खुलेको प्रमाणपत्रसहित वडाबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम बनेको वडाध्यक्ष शाहीले जानकारी दिए ।

“कसैले सिफारिस नलिई विवाह गरेमा वडाबाट प्रदान गरिने सबै सेवा सुविधा बन्द गर्ने निर्णय भएको छ”, उनले भने ।

उमेर नपुगेको पाइएमा कानुनअनुसार कारबाहीका लागि वडाले नियम बनाउन लागेको गाउँपालिका उपाध्यक्ष धर्मा शाहीले बताए ।

“यसभन्दा अघि शुभकालीका–४ ले वडाको सिफारिसबिना विवाह गर्न नपाइने र गरिहालेमा केही सेवाबाट वञ्चित गर्ने निर्णय गरेको थियो ” उनले भने , “अब यो नियम पालिकाभरी लागू हुनेगरी बनाउँदै छौँ ।”


क्लिकमान्डु