पपुवा न्युगिनीविरुद्ध नेपालको सानदार जित



काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत नेपालले पपुवा न्युगिनीविरुद्धको खेलमा सानदार जित निकालेको छ । नेपालले पपुवा न्युगिनीविरुद्धको खेल ९ विकेटले जितेको हो ।

पपुवा न्युगिनीले नेपालसामु जितका लागि ९६ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले उक्त लक्ष्य ७ दशमलव ४ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले विस्फोटक ब्याटिङ गरे । दुवै जनाबीच ५१ रनको साझेदारी रह्यो । शेखले २१ बल खेल्दै तीन छक्का र आठ चौकाको मद्दतमा अविजित ५३ रन बनाए ।

यस्तै भुर्तेलले १४ बल खेल्दै दुई छक्का र चार चौका प्रहार गरी ३३ रन बनाए । कुशल मल्लले अविजित रहँदै १२ रनको योगदान दिए । उनले १३ बल खेल्ने क्रममा एक छक्का र एक चौका हाने । बलिङतर्फ पपुवा न्युगिनीका चाड सोपरले एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालले टस जितेर पपुवा न्युगिनीलाई ब्याटिङ गर्ने निम्तो दिएको थियो । पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३२ ओभर खेल्दै सबै विकेट गुमाएर मात्र ९५ रन बनायो ।

पपुवा न्युगिनीका ब्याटर नेपाली बलरसामु निरीह सावित भए । पपुवा न्युगिनीले सुरुवातमै महत्वपूर्ण दुई विकेट गुमाएको थियो । हिरी हिरी, सेसे बाउ, कप्तान असाद भाला र चाल्र्स अमिनीले केही हदसम्म पारी सम्हाल्ने प्रयास गरे ।

तर नेपाली बलरले उनीहरुलाई खुलेर खेल्न दिएनन् । भालाले २०, बाउले १८, अमिनीले १६ तथा हिरीले १४ रन बनाए । अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् ।  

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिए । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए । लामिछानेले १० ओभर बलिङ गर्ने क्रममा एक मेडन राख्दै २५ रन मात्र खर्चिए । यस्तै ललित राजवंशी र कुशल मल्लले दुई-दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

नेपालले जारी शृङ्खलामा अब आफ्नो अन्तिम खेलमा बिहीबार युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्नेछ ।


क्लिकमान्डु