बैंकर्स संघको ब्याजदर घटाउने निर्णयको प्रभावः सेयर बजारमा उछाल



काठमाडौं । बैंकर्स संघले वाणिज्य बैंकहरुले कर्जाको ब्याजदरमा १ प्रतिशत प्रिमियम घटाउन गरेको निर्णयको प्रभाव सेयर बजारमा परेको छ ।

केही समययता घटेको बजार बिहीबार भने ५०.०४ अंकले बढेर परिसूचक २००२.७० बिन्दुमा रोकिएको छ । बिहीबार बिहान बसेको संघले बैठकले यसअघि आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह भइरहेकोमा बढीमा ५ प्रतिशत थप्ने गरी निर्णय गरेको छ ।

प्रिमियम १ प्रतिशतले घटाउने निर्णय चैत १ देखि लागू हुने छ । गत पुसमा बैंकहरुको औसत आधार दर १०.९१ प्रतिशत पुगेको छ । त्यसमा ६ प्रतिशतसम्म थपेर बैंकहरुले कर्जा प्रवाह गर्दै आएका थिए ।

आधार दर गत वर्षको पुसको औसत आधार दरको तुलनामा २९ प्रतिशतले बढेको छ । गत वर्ष पुसमा बैंकको आधार दर औसत ८.४२ प्रतिशत थियो । कल डिपोजिटको ब्याजदर ०.२१ प्रतिशत र बचतको ब्याजदर ०.४२ प्रतिशत बिन्दुले घटाउने निर्णय भएको छ । जसको प्रभाव बजारमा परेको लगानीकर्ताको भनाइ छ ।

२६२ कम्पनीको ४५ लाख ६६ हजार ४३ कित्ता सेयर १ अर्ब ५६ करोड ५५ लाख ५८ हजार ८०२ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । कारोबारमा बैंकिङ समूहको २३.५४, विकास बैंक १०५.४२, वित्त ५६.८४, होटल ६६.६१, जलविद्युत ९०.०४, जीवन बीमा ३१३.७४, उत्पादन तथा प्रशोधन १०९.७३, निर्जीबन बीमा २५२.७६, अन्य समूहको ३१.२१ र ट्रेडिङ समूहको उपसूचक ४३.५६ अंकले बढेको छ ।

कारोबारमा शुभव पावर कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी, शिभ श्री हाईड्रोपावर, अभियान लघुवित्त वित्तीय संस्था, जोशी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कारोबार रकमका आधारमा शिवम सिमेन्ट अग्रस्थानमा रहेको छ ।

कम्पनीको ७ करोड ८५ लाख ८८ हजार ३१७ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो स्थानमा रहेको हिमालयन डिस्ट्रिलरीको ५ करोड ७३ लाख १७ हजार २७१ रुपैयाँको र अरुण काबेली पावरको ४ करोड ७६ लाख ४६ हजार ६८८ रुपैयाँको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु